सियोल । अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गरेको निर्णायक गोलसँगै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनल यात्रा तय गरेको छ।

अतिरिक्त समयको अन्तिम क्षणमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाको जित सहज देखिए पनि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। अर्जेन्टिनाका लागि पहिलो गोल एलेक्सिस म्याक एलिस्टरले लियोनेल मेसीको कर्नर पासमा गरेका थिए।

यस जितसँगै अर्जेन्टिनाले बुधबार एटलान्टामा हुने सेमिफाइनलमा इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इङ्गल्यान्डले क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले हराएर अन्तिम चारमा स्थान बनाएको थियो।

मेसीको लगातार नौ विश्वकप खेलमा गोल गर्ने शृङ्खला यस खेलमा रोकिए पनि अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियान भने कायम रहेको छ। अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेन सेमिफाइनलमा पुगेसँगै फिफा वरीयताका शीर्ष चार टोली पहिलो पटक एकै विश्वकपको अन्तिम चारमा पुगेका छन्।

दोस्रो हाफमा रेफ्रीको एउटा निर्णय विवादको विषय बन्यो। ६७औँ मिनेटमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि बराबरी गोल गरेपछि लिआन्ड्रो पारेडेसले ब्रिल एम्बोलोमाथि फाउल गरेको भन्दै पहेंलो कार्ड देखाइएको थियो। तर भिडियो समीक्षामा सम्पर्क हुनुअघि नै एम्बोलो लडेको देखिएपछि निर्णय संशोधन गरियो। यसअघि नै पहेंलो कार्ड पाइसकेका एम्बोलोलाई अन्ततः मैदानबाट बाहिर पठाइएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो।

विश्वकपमा ‘गलत खेलाडीको पहिचान’सम्बन्धी नियम प्रयोग गरी भिडियो सहायक रेफ्रीको हस्तक्षेपबाट कार्डको निर्णय परिवर्तन गरिएको यो दोस्रो घटना हो।

क्वार्टरफाइनलसम्म आइपुग्दा अर्जेन्टिनाले नकआउट चरणका दुवै अघिल्ला खेलमा कठिन सङ्घर्ष गरेको थियो। अन्तिम १६ मा केप भर्डेलाई अतिरिक्त समयमा हराएको अर्जेन्टिनाले त्यसपछि इजिप्टविरुद्ध निर्धारित समयको अन्तिम चरणमा पुनरागमन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो।

स्विट्जरल्यान्डले भने सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल खेलेको थियो। तर उसले अझै पनि विश्वकप इतिहासमा पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न सकेन।

खेलको सुरुआतमा बलमा स्विट्जरल्यान्डको पकड देखिए पनि मेसीको कर्नरमा म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले दुई महत्त्वपूर्ण बचाउ गरे पनि रिकार्डो रोड्रिगेजको पासमा डान एनडोयेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाले लगातार दबाब सिर्जना गरे पनि विजयी गोल निकाल्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यसपछि ११२औँ मिनेटमा अल्भारेजले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जित सुनिश्चित गर्यो। रासस् \एएफपी