विजयपुर । सुनसरीको धरान–२ स्थित देशीलाइनका होटल व्यवसायी तथा नेपाल कम्युनिष्ट पार्टीका नेता भूपाल राईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईका अनुसार मुख्य राजमार्ग अवरुद्ध गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । इन्स्पेक्टर राईले भने, “स्थानीय सरकारसँग समन्वय गर्न दुई दिनदेखि अनुरोध गरेका थियौँ । तर मुख्य राजमार्ग अवरुद्ध गरेपछि नियन्त्रणमा लिनुपरेको हो ।”


उनका अनुसार पक्राउ परेकामाथि मुद्दा चलाउने वा रिहा गर्ने विषय माथिल्लो निकायको निर्देशनअनुसार तय हुनेछ । देशीलाइन क्षेत्रका व्यवसायीले भानुचोकदेखि पूर्वतर्फ देशीलाइन सडक पुनः दुईतर्फी सञ्चालन गर्नुपर्ने माग राख्दै बुधबारदेखि आन्दोलन गर्दै आएका छन्। आन्दोलनको दोस्रो दिन बिहीबार व्यवसायीहरूले आफ्ना पसल बन्द गरी धर्ना तथा प्रदर्शन गरेका थिए ।