पथरी । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगरसमिति मोरङले तालिममा उपस्थित हुने सहभागिहरुलाई तालिमपछि बाख्रा, बंगुरको पाठा र कुखुराको चल्ला निःशुल्क प्रदान गर्ने भएको छ ।
वडा नं.–४, स्थित नयाँ सोमाबारे बजारको सामुदायिक भवनमा शुक्रबारदेखि ‘बंगुर, बाख्रा र कुखुरा’ पालन तालिम सुरु भएको छ । आदिवासी जनजाति समुदायलाई स्वरोजगार बनाउने उदेश्यले आयोजित तालिममा नगरमा रहेको १७ वटा जातीय समुदायबाट ५० जना सहभागि रहेको समितिका सचिव देबेन्द्र वनेम लिम्बूले बताए ।
मदन भण्डारी स्मृति प्रतिष्ठानको सामाजिक परिचालन बिभागमा कार्यरत रुद्र तामाङ्गले तीन दिने उक्त तालिमको सहजीकरण गर्ने छ ।
पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित तालिममा सहभागिहने कृषकहरुले बिषय अनुसार बाख्रा र बंगुरको एक एक वटा पाठा र कुखुरा पालन सम्बन्धी तालिम लिनेले सय वटा बोइलर कुखुराको चल्ला दिने कार्यक्रम रहेको नेपाल आदिबासी जनजाति महासंघ नगर समितिका कोषाध्यक्ष रामचन्द्र मगरले बताए ।
समितिको उपाध्यक्ष राजेन्द्र गुरुको सभापतित्वमा भएको कार्यक्रममा महासंघको १ नम्बर प्रदेश समितिको सचिव तिलकप्रसाद राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारी लगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलिपकुमार राईले नगरपालिकामा बंगुर, लोकल कुखुरामा आत्मनिर्भर रहेको दाबी गरे । बंगुर नगरबाट अन्यत्र निर्यात समेत हुने गरेको बताउदै तालिम लिने परिवार शिप सिकेर आत्मनिर्भर बन्न शुभकामना दिए ।
त्यसैगरी, नगर प्रमुख राईले नगरलाई आत्मनिर्भर र अर्गानिक बनाउने उदेश्यले नगरपालिका हरेक वडाबाट ३० जनाको दरले तीन सय कृषकलाई बेमौसमी तरकारी उत्पादन लगायतको बिभिन्न प्रकारको तालिम दिएपनि तालिम लिने कृषकहरुले प्रभावकारी ढंगले नलागेको गुनासो गरे ।
तालिम दिएका मध्ये सिलाई कटाइ, ढाका तान र दुना टपरी तालिम गर्ने बाहेक अरु प्रभावकारी ढंगले प्रयोगमा नआएको राईको भनाइ थियो ।
नगर प्रमुख राईले नगर सरकार हरेक सुकुम्बासीलाई जग्गा धनिपुर्जा दिन लागि परेको बताए । अब्यबस्थित बासोबासीहरुलाई जग्गा दिन सुकुम्बासी आयोगसँग नगरको सम्झौता भइसकेको उल्लेख गर्दे चाँडै धनिपुर्जा दिन नगरपालिका र हरेक वडामा समिति गठन भइसकेको बताए ।
सुकुम्बासी आयोगले देशभर सय, १ नम्बर प्रदेशमा ३० र मोरङ जिल्लामा सात वटा पालिकामा सुकुम्बासीहरुलाई जग्गा दिन प्रकृया सुरु भइसकेको नगर प्रमुख दिलिप कुमार राईले बताए ।