विजयपुर । धरान उपमहानगरपालिका–८ स्थित रहेको धरान औद्योगिक क्षेत्रमा ३५ करोड रुपैयाँ बराबर लगानी थपिने भएको छ ।

धरान औधोगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेका अनुसार निष्क्रिय उद्योगहरूको लिज सम्झौता रद्द गरी नयाँ उत्पादनमूलक उद्योग भिœयाइएपछि करिब ३ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतको औद्योगिक क्षेत्रमा पाँचवटा नयाँ उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढेको कार्यालय प्रमुख बन्जाडेले जानकारी दिएका छन् ।

उनका अनुसार हालको आर्थिक मन्दी र लगानी सङ्कुचनको अवस्थामा समेत नयाँ उद्योगमार्फत् ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको हो ।  

नयाँ उद्योगमा प्रिती भल्भ एण्ड फिटिङ इन्डष्ट्रिज प्रा.लि., जि.डि. स्टिल इण्डष्ट्रिज प्रा.लि., सिद्धि विनायक घरेलु उद्योग, जे.आर. भेन्चर्स प्रा.लि. तथा सूर्य डायमण्ड इण्डष्ट्रिज प्रा.लि. रहेका छन् । सूर्य डायमण्ड इण्डष्ट्रिजको सम्झौता भने केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ ।

उद्योगहरूले पानीका मिटर तथा फिटिङ सामग्री, निर्माण सामग्री, खाद्यान्न, पशु आहार तथा भाँडावर्तन उत्पादन गर्नेछन् । उत्पादन सुरु भएपछि स्वदेशी बजारको माग पूर्ति गर्नुका साथै केही वस्तु निर्यात गर्ने सम्भावना रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख बञ्जाडेका अनुसार आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

हाल धरान औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन् । तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग स्थापना तथा निर्माणको चरणमा छन् । हाल सञ्चालनमा रहेका उद्योगहरूले करिब एक हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् । नयाँ उद्योग सञ्चालनमा आएपछि थप ३ सय ५० जनाले रोजगारी पाउने प्रमुख बञ्जाडेको भनाइ छ ।

कार्यालय प्रमुख बन्जाडेका अनुसार लामो समयसम्म उद्योग सञ्चालन नगरी सरकारी जग्गा उपयोगविहीन बनाएका उद्योगहरूको लिज सम्झौता कानूनी प्रक्रिया पूरा गरी रद्द गरिएको छ । नेपाल न्यून नेटवर्क प्रा.लि., शुभम वाटर इन्डष्ट्रिज प्रा.लि., जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डष्ट्रिज प्रा.लि. र कामना मल्टिफोर्ड इन्डष्ट्रिजको सभ्झौता रद्द गरिएको प्रमुख बञ्जाडेले जानकारी दिए ।

सम्पत्ति मूल्याङ्कन गरी सार्वजनिक प्रस्ताव आह्वानमार्फत् नयाँ लगानीकर्ता छनोट गरिएको उनले जानकारी दिए । २०२९ सालमा शिलान्यास भई २०३२ सालदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र २ सय २ रोपनी क्षेत्रफलमा फैलिएको छ । निजी क्षेत्रबाट करिब दुई अर्ब रुपैयाँ लगानी रहेको औद्योगिक क्षेत्रमा सरकारी क्षेत्रको लगानी १६ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

बाँकी खाली स्थानमा पनि उत्पादनमूलक उद्योग भिœयाइने प्रक्रिया निरन्तर अघि बढाइने कार्यालयले जनाएको छ । लामो समयसम्म पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको धरान औद्योगिक क्षेत्रमा अहिले निष्क्रिय उद्योग व्यवस्थापन नयाँ लगानी आकर्षण र उत्पादनमूलक उद्योग विस्तारका कारण पुनःर्जीवित हुँदै गएको कार्यालय प्रमुख बञ्जाडेको भनाइ छ ।