० ६९ लाख रुपैयाँ बक्यौता बाँकी, दुई उद्योगको विद्युत् लाइन काटियो
० प्रहरी लगाएर लाइन काट्ने भनेपछि उवा सङ्घ अध्यक्ष श्रेष्ठले ब्याजसहितको बक्यौता तिरे
विजयपुर । धरान औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले वर्षौंदेखि तिर्न‘पर्ने जग्गा बहाल, विद्युत्, खानेपानी तथा सुरक्षा शुल्कबापतको राजस्व नतिरेको पाइएको छ ।
सरकारी स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार हालसम्म करिब ६९ लाख रुपैयाँ बक्यौता सङ्कलन हुन बाँकी रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय धरानका प्रमुख जीवनारायण बन्जाडेका अनुसार उद्योगहरूले २०७५ सालदेखि नियमितरूपमा तिर्न‘पर्ने विभिन्न शीर्षकका महसुल तथा शुल्क समयमै नतिरेका हुन् । उनका अनुसार पटक–पटक लिखित तथा मौखिकरूपमा ताकेता गर्दा पनि भुक्तानी नभएपछि अन्ततः कडाइका साथ असुली प्रक्रिया अघि बढाइएको छ ।
उद्योग तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्रीय कार्यालयको निर्देशनपछि बक्यौता असुली अभियान सञ्चालन गरिएको हो । कार्यालयले सात दिनको समयसीमा दिएर गत जेठ २५ गते बक्यौता तिर्न सूचना जारी गरे पनि अधिकांश उद्योगले अटेर गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख बन्जाडेको भनाइ छ । कार्यालयका अनुसार बक्यौता नतिर्ने उद्योगहरूमध्ये केहीको विद्युत् लाइनसमेत काटिएको छ । सो क्रममा जेबी स्टिल एण्ड आइरन उद्योगले १ लाख ८२ हजार ७ सय २५ रुपैयाँ र प्रसन्न प्लास्टिक उद्योगले २ लाख ८९ हजार ४ सय ७९ रुपैयाँ बक्यौता नतिरेपछि विद्युत् आपूर्ति बन्द गरिएको छ ।
यस्तै, धरान औद्योगिक क्षेत्रमा बक्यौता असुली तथा विवरण अद्यावधिक गर्ने क्रममा विभिन्न उद्योगहरूले आंशिक तथा पूर्णरूपमा भुक्तानी गरेको पाइएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठसँग सम्बन्धित अपुश्री एन्टरप्राइजेज अफसेट प्रेसको २ लाख ४९ हजार २ सय ६५ रुपैयाँ बक्यौता रहेकोमा ब्याजसहित ३ लाख १२ हजार ४२ रुपैयाँ भुक्तानी गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अध्यक्ष श्रेष्ठले २०७९ सालदेखि राजस्व भुक्तानी गरेका थिएनन्, बुधबार कार्यालयले प्रहरी परिचालन गरेर विद्युत् लाइन काट्न थालेपश्चात् मात्र भुक्तानी गरेका हुन् । यस्तै नेपाल प्लास्टिक प्रा.लि. ले ५ लाख ७४ हजार ५ सय ७१ रुपैयाँको मूल बक्यौता ब्याजसहित ७ लाख १४ हजार ६ सय १६ रुपैयाँ, बक्यौता भुक्तानी गरेको छ । पपुलर प्लास्टिक प्रा.लि. ले ४ लाख ७९ हजार ४ सय ४१ रुपैयाँको बक्यौता ब्याजसहित ६ लाख ६ हजार ६१ रुपैयाँ भुक्तानी गरेको छ ।
इशा प्लास्टिक प्रा.लि. ले ३ लाख ४० हजार ३ सय २६ रुपैयाँ बक्यौताको ब्याजसहित ४ लाख २७ हजार ९१ रुपैयाँ, जानकी प्रोडक्ट्स प्रा.लि. ले २ लाख ६४ हजार ६ सय ९ रुपैयाँ, बाबा शिव घरेलु उद्योगले १ लाख १३ हजार ८ सय २८ रुपैयाँ बक्यौताको ब्याजसहित १ लाख २८ हजार ३ रुपैयाँ भुक्तानी गरेका छन् ।
धरान डेरी फुड प्रोडक्ट्सले १ लाख ४१ हजार ८ सय ७८ रुपैयाँमध्ये ८७ हजार ४९ रुपैयाँ मात्र भुक्तानी गरेको छ भने आख मेटल इण्डष्ट्रिजले ३ लाख ५६ हजार ३ सय १६ रुपैयाँमध्ये ५० हजार रुपैयाँ मात्र तिरेको छ ।
सनग्रीन प्लाइउड इण्डष्ट्रिज प्रा.लि. ले ९ लाख ३५ हजार ७ सय २६ रुपैयाँ बक्यौताको ब्याजसहित १० लाख २ हजार ६ सय २६ रुपैयाँ भुक्तानी गरेको छ । दाजुभाइ खुकुरी उद्योगले २ लाख ४३ हजार ५ सय ४२ रुपैयाँमध्ये १ लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ भने पञ्चकन्या टेक्सटाइलले २ हजार ४ सय १७ रुपैयाँ भुक्तानी गरेको छ ।
तर, अझै पनि ब्राइट फिड प्रा.लि. ले २४ लाख ८७ हजार ४ सय ८३ रुपैयाँ बक्यौता भुक्तानी नगरेको कार्यालयले जनाएको छ । यस्तै, प्रसन्न प्लास्टिक उद्योगले २ लाख ८९ हजार ४ सय ७९ रुपैयाँ भुक्तानी गरेको छैन । जेस्टिन एण्ड आइरन इण्डष्ट्रिज प्रा.लि.ले २ लाख ९ हजार ८१ रुपैयाँ बक्यौता भुक्तानी नगरेको हो । नेपाल न्युज नेटवर्क प्रा.लि.ले १ लाख १८ हजार ४ सय ८७ रुपैयाँ बक्यौता भुक्तानी नगरेको हो । गणपति इण्डष्ट्रिजले ९२ हजार ९ सय ५९ रुपैयाँ, सनराइज अटोवक्र्स प्रा.लि.ले ९२ हजार ९ सय ५९ रुपैयाँ बक्यौता भुक्तानी नगरेको हो । नेपाल बेम्बो इन्डष्ट्रिज प्रा.लि.ले १२ हजार ६४ रुपैयाँ बक्यौता भुक्तानी गरेको छैन ।
धनकुटा पोलिथिन उद्योगले १ हजार १ सय ४२ रुपैयाँ बक्यौता नगरेको हो । वाराही मेटल इण्डष्ट्रिजले २ हजार ५ सय ५० रुपैयाँ बक्यौता भुक्तानी नगरेको हो । सिद्धार्थ प्याकेजिङ इन्डष्ट्रिजले १ हजार १ सय २ रुपैयाँ, पेन्सिल कलम उद्योगले २ हजार ४ सय ८८ रुपैयाँ, नेपाल ब्रस इण्डष्ट्रिजले २ हजार ४ सय ३२ रुपैयाँ भुक्तानी नगरेको कार्यालयले जनाएको छ ।
भीमसेन होजियारी उद्योगले २ हजार ३ सय ६७ रुपैयाँ, स्वयम्भु आल्मुनियम उद्योगले १ हजार १ सय ७८ रुपैयाँ, नेपाल आइरन ट्रेलिगेन्सले २ हजार ९१ रुपैयाँ र कोशी टफी उद्योगको १ हजार ८ सय ४५ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । औद्योगिक क्षेत्रमा कुल ६९ लाख रुपैयाँ बक्यौतामा हालसम्म ३६ लाख ९४ हजार ५ सय १६ रुपैयाँ मात्र बक्यौता भुक्तानी गरेका छन् भने अन्य बाँकी रहेको प्रमुख बन्जाडेले बताए ।
कार्यालयले बक्यौता नतिर्ने उद्योगहरूलाई क्रमशः विद्युत् लाइन काट्ने चेतावनी दिएको छ । कार्यालयका अनुसार जग्गा बहाल प्रतिरोपनी वार्षिक २२ हजार ७ सय ९५ रुपैयाँ, भवनको प्रति वर्गफिट २ रुपैयाँ १० पैसा तथा विद्युत् र खानेपानी महसुल सम्बन्धित निकायको दरअनुसार असुल गरिँदै आएको छ । कुल ३३ वटा उद्योग रहेका छन् जसमा ४ वटा निर्माणाधीन रहेको कार्यालयले जनाएको छ ।
