विजयपुर । सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेटबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटरमा सवार इटहरी उपमहानगरपालिका–४ निवासी ४३ वर्षीय बिशे चौधरी र सोही स्थानका ४३ वर्षीय भुप नारायण चौधरीलाई जाँच गर्दा बिशे चौधरीले मलद्वारभित्र लुकाएर राखेको अवस्थामा ७.५२ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

यस्तै, को. ३० प.४५०९ नम्बरको मोटरसाइकलमा सवार धरान–१६ का ३० वर्षीय एलिन जंग राणा र धरान–११ का ३१ वर्षीय सन्देश लिम्बुलाई चेकजाँच गर्दा सन्देश लिम्बुले मलद्वारभित्र लुकाएर राखेको अवस्थामा १२.६५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । दुवै घटनाबाट बरामद गरिएको लागूऔषधको कुल परिमाण २०.१७ ग्राम रहेको छ ।

पक्राउ परेका चारै जनालाई बरामद लागूऔषध तथा सवारीसाधनसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।