तेहरान (रासस\एएनआई) पश्चिम एसियामा तनाव पुन: चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ । इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिएको छ ।
तस्निम समाचार संस्थाका अनुसार बेलायतीले बहराइनलाई आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कडा रूपमा दिने बताए । इरानले अमेरिकाले आफ्नो विरुद्ध सैन्य कारबाही गर्न खाडी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।
तेहरानले शुक्रबार र शनिबार बहराइनस्थित अमेरिकी नौसैनिक अड्डालाई निशाना बनाएको दाबी गरेको थियो । तर बहराइनसहित खाडीका अन्य मुलुकहरूले उक्त आरोप अस्वीकार गरेका छन् । बहराइनले पछिल्ला आक्रमणले आफ्नो सार्वभौमिकताको उल्लङ्घन गरेको र क्षेत्रीय स्थिरता कमजोर बनाएको जनाएको छ ।
यसबीच अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन् । एक्सियोसका अनुसार दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका छन् र प्राविधिक तहका वार्ता जारी राख्न सहमत भएका छन् ।
हालको तनावको केन्द्रमा हर्मुज जलघाँटी रहेको छ । व्यापारिक जहाजहरूको आवागमन र सुरक्षासम्बन्धी सम्झौताका विभिन्न व्याख्याका कारण दुवै पक्षबीच मतभेद बढेको हो । प्रारम्भिक समझदारीअनुसार इरानले जलमार्गको सुरक्षा सुनिश्चित गर्ने र अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति भएको थियो ।
गत साता स्विट्जरल्यान्डमा भएको वार्तामा अमेरिकी र इरानी पक्षबीच जलमार्गमा हुने ढुवानी समन्वयका लागि प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो । तर इरानले जहाजहरूले आफ्नो सेनासँग प्रत्यक्ष समन्वय गर्नुपर्ने नयाँ माग अघि सारेपछि उक्त योजना कार्यान्वयन हुन सकेन ।
इरानले अमेरिकाले समझदारीका मुख्य सर्तहरू पूरा नगरेको आरोप लगाउँदै निर्धारित प्राविधिक वार्ता रद्द गरेको छ । इरानी अधिकारी मेहदी फजाइलीले इरानका रोक्का गरिएका वित्तीय सम्पत्तिमा पहुँच उपलब्ध गराउने विषय पनि वार्ता अवरुद्ध हुनुको एउटा प्रमुख कारण रहेको बताए ।
पश्चिम एसियामा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलघाँटीको सुरक्षा र अमेरिकी सैन्य उपस्थितिलाई लिएर बढ्दो तनावका बीच इरानको बहराइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता उत्पन्न गरेको छ ।