विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।


कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पाँच जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको साथबाट ७ सय ९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, एक थान मिनी ट्रक र एक थान मोटरसाइकल बरामद गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।


धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार क्षेत्रमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले को १ ख ४६३५ नम्बरको मिनी ट्रकमा चेकजाँच गर्दा आलुको बोराभित्र लुकाएर राखिएको २५ वटा प्लास्टिकका पोकामा ७ सय ७५ किलोग्राम गाँजा फेला पारेको थियो । उक्त गाँजासहित ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३३ वर्षीय परीक्षण कुँवर पक्राउ परेका छन् ।


यस्तै, इलाका प्रहरी कार्यालय राजारानीले धनकुटाकै साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राईलाई २० किलोग्राम गाँजा र बा ६४ प १४३५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।


मोरङको प्रहरी चौकी गछियाबाट खटिएको टोलीले सुन्दरहरैँचा नगरपालिका–६ का बिकुल राई र ज्ञानेन्द्र बिकलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–६ का प्रदीप मण्डललाई २ ग्राम ५ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।


पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।