विजयपुर । हातहतियार तथा खरखजाना र जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय भुक्तान गरिसकेका नुर महमद पुनः अवैध हतियारसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्तीका ५१ वर्षीय नुर महमद र विराटनगर–८ अशोक चोक निवासी ३२ वर्षीय इम्रान खान (मो. अहमद) लाई सुनसरीको गढी गाउँपालिका–१ मधेली झण्डा चोकबाट बुधबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट नुर महमदविरुद्ध २०६४ साल कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङमा हातहतियार तथा खरखजाना र जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएको खुलेको छ । उक्त मुद्दामा उनी १२ वर्ष कैद सजाय भुक्तान गरी रिहा भएको प्रहरीले जनाएको छ ।
यस्तै, पक्राउ परेका इम्रान खानविरुद्ध २०७५ साल चैत १९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा चोरी मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुवै जनामाथि शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट एक थान चाइनिज पेस्तोल, पेस्तोलमा प्रयोग हुने एक थान म्याग्जिन र तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको हतियार, म्याग्जिन र गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।