विराटनगर । मङ्गलबार राति घरमा खाना खाएर निस्कँदा १४ वर्षीय मन्जित यादवले आमालाई भनेका थिए – “म एकैछिनमा आइहाल्छु नि !” मोरङको जहदा गाउँपालिका–१ बुधनगरका मन्जितको त्यही ‘एकैछिन’ यतिबेला परिवारका लागि अनन्त प्रतीक्षाको विषय बनेको छ । 

मङ्गलबार घरबाट निस्किएका मन्जित बुधबार बिहानदेखि विराटनगर–१८ भेडियारीस्थित पोखरीमा बेपत्ता छन् । आमा रन्जुदेवी र बुबा तेजराज यादवका एक्ला छोरा मन्जित पोखरीमा डुबेर बेपत्ता भएपछि घरमा रुवाबासी चलेको छ । छोरा हराएको पीडाले आमा रन्जुदेवी बेहोस भएकी छन् । उनलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ ।

मन्जित दुई छोरीपछिका एक्ला छोरा हुन् । उनी कसरी पोखरीमा पुगे र बेपत्ता भए भन्ने विषयमा प्रहरी र स्थानीयको दाबी फरक–फरक छ ।

प्रहरीको पिछा र बेपत्ताको प्रसङ्ग

स्थानीयका अनुसार बुधबार बिहान गाँजा बोकेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेका मन्जितलाई प्रहरीले देखेपछि लखेटेको थियो । प्रहरीबाट बच्न भाग्ने क्रममा उनी पोखरीमा हाम्फालेको स्थानीय बासिन्दा शङ्कर यादव बताउँछन् । “बिहान ८ बजेतिर गाँजा बोकेको आशङ्कामा प्रहरीले लखेटेपछि उनी पोखरीमा छिरेको कुरा आएको छ” उनले भने, “यस घटनाको गहिरो गरी छानबिन हुनुपर्छ ।”

मोरङका प्रहरी प्रवक्ता डिएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो । तर, चालक मन्जितले मोटरसाइकल छाडेर भाग्न खोज्दा नजिकैको पोखरीमा पसेको र त्यसपछि बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनालगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालसहितको टोली घटनास्थल पुगेको थियो । एसपी कटुवालले भने, “हामीले उनी पोखरीमा डुबेको प्रत्यक्ष देखेका त होइनौँ, तर स्थानीयले देखेपछि खोजी कार्य तीव्र पारेका छौँ ।”

खोजबिन जारी, भारतीय नागरिक पक्राउ

मन्जितको खोजीका लागि खटिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार विपद् व्यवस्थापनको तालिमप्राप्त टोली परिचालन गरिएको छ । “अहिलेको टोलीले फेला पार्न सकेन भने सशस्त्र प्रहरी बल कोशी प्रदेशको गोताखोर टोली बोलाएर खोजी कार्य जारी राख्छौँ”–भण्डारीले भने । बुधबार साँझसम्म पनि मन्जितको अवस्था पत्ता लाग्न सकेको छैन ।

सोही मोटरसाइकलको पछाडि सवार रहेका एक भारतीय नागरिकलाई भने प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादव छन् । उनको साथबाट ६ किलो १ सय ३० ग्राम गाँजा बरामद भएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

यता, मन्जितको खोजी कार्यमा ढिलाइ भएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । उनीहरूले खोजी कार्यलाई तीव्रता दिन माग गर्दै बुधबार केहीबेर नाराबाजीसमेत गरेका थिए ।