विजयपुर । असार अन्तिम सातासम्म कोशी प्रदेशमा ५४.८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।


कृषि विकास निर्देशनालय विराटनगरले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर धान खेती हुने कुल २ लाख ७६ हजार ३८६ दशमलव ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख ५१ हजार ६१९ दशमलव ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । भौगोलिक क्षेत्रअनुसार कोशी प्रदेशको मध्य पहाडी क्षेत्रमा सबैभन्दा बढी ६१.०९ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।


प्रदेशको प्रमुख धान उत्पादन क्षेत्र मानिने तराईका झापा, मोरङ र सुनसरीमा भने ५३.६६ प्रतिशत रोपाइँ सकिएको छ । तराई क्षेत्रमा कुल १ लाख ९३ हजार २८५ दशमलव १८ हेक्टर धान खेतीयोग्य जमिन रहेकोमा हालसम्म १ लाख ३ हजार ७१४ दशमलव २८ हेक्टर क्षेत्रमा धान रोपिएको छ ।


उच्च पहाडी क्षेत्रअन्तर्गत ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ४२.५१ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका अनुसार झापामा ४६ प्रतिशत, मोरङमा ४६.३३ प्रतिशत र सुनसरीमा ५२ प्रतिशत रोपाइँ सकिएको छ । यस्तै पाँचथरमा ६७ प्रतिशत, इलाममा ६६ प्रतिशत र भोजपुरमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।