विजयपुर । धरानमा प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।


धरान फिटनेस क्लबको आयोजनामा आगामी असोजमा हुने प्रतियोगिता स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा सञ्चालन गर्न लागिएको हो । धरान फिटनेस क्लबका अध्यक्ष कबिर भगत प्रधानाङ्गका अनुसार प्रतियोगिता धरान–१८ स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजना हुनेछ ।


प्रतियोगिताको छनोट चरण २०८३ असोज १० गते शनिबार र मुख्य प्रतियोगिता असोज ११ गते आइतबार हुने तय गरिएको छ ।


प्रतियोगितामा प्रथम हुने खेलाडीले ३ लाख रुपैयाँ, दोस्रो हुनेले २ लाख रुपैयाँ र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै चौथो स्थान हासिल गर्ने खेलाडीलाई ७५ हजार, पाँचौँलाई ५० हजार र छैटौँ स्थान प्राप्त गर्नेलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


तौल समूहअन्तर्गत दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । साथै ‘बेस्ट पोजर’ र ‘मोस्ट मस्कुलर’ विधाका विजेतालाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।


प्रतियोगितामा कोशी प्रदेशको नागरिकता भएका तथा हाल देश वा विदेशमा रहेका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् । प्रदेश वा कोशीस्तरीय प्रतियोगिता जितिसकेका खेलाडीहरू पनि सहभागी हुन सक्नेछन् भने राष्ट्रियस्तरको प्रतियोगितामा पदक जितिसकेका खेलाडीलाई भने सहभागिता निषेध गरिएको आयोजकले जनाएको छ ।


आयोजकले युवा खेलाडीहरूको विकास, स्वस्थ जीवनशैली प्रवद्र्धन तथा शारीरिक सुगठन खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।