विराटनगर । कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले मन्त्रीस्तरीय निर्णय गराउँदै विराटनगर–१४ स्थित शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रमा रहेका भेन्टिलेटर धमाधम वितरण गर्न थालेका छन् ।
प्रदेश मातहतको उक्त अस्पताललाई व्यवस्थित बनाउनुको साटो त्यहाँ रहेका महँगा उपकरणहरू मन्त्रीले आफ्नै तजबिजमा अन्य तीन अस्पताललाई बाँडेका हुन् । मन्त्री लिम्बूले झापाको प्रादेशिक अस्पताल भद्रपुर, मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल र उदयपुरको कटारी अस्पताललाई गरी कुल ७ थान भेन्टिलेटर वितरण गर्ने निर्णय गरेका छन् । अचम्मको कुरा के छ भने कतिपय अस्पतालले निवेदन दिएकै दिन मन्त्रीले मन्त्रीस्तरीय निर्णयमार्फत् उपकरण दिन स्वीकृति दिएका छन् ।
एकै दिन निवेदन र निर्णय
स्वास्थ्य मन्त्री लिम्बूले असार १२ गते मन्त्रीस्तरीय निर्णय गर्दै सङ्घीय सरकार मातहत रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल (गोठगाउँ) लाई दुई थान भेन्टिलेटर उपलब्ध गराएका छन् । शिक्षण अस्पतालले मन्त्रालयमा भेन्टिलेटर आवश्यक परेको भन्दै पत्र दर्ता गराएकै दिन मन्त्रीले तुरुन्तै फाइल सदर गरेका हुन् ।
मन्त्रालयले अस्पताललाई लेखेको पत्रमा भनिएको छ, “पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालको मिति २०८३÷०३÷१२ गते यस मन्त्रालयमा दर्ता भएको निवेदन अनुसार एमबीबीएस कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार पु¥याउन दुई थान भेन्टिलेटर मेसिन उपलब्ध गराउने मन्त्रीस्तरीय निर्णय भएको छ ।” चिकित्सा शिक्षा आयोगको मापदण्ड पूरा गर्न उपकरण अभाव भएपछि शिक्षण अस्पतालले प्रदेश सरकारसँग गुहार मागेको थियो ।
भद्रपुरलाई ३ थान भेन्टिलेटर
पूर्वाञ्चल शिक्षण अस्पताललाई उपकरण दिएको दुई सातापछि असार २९ गते झापाको प्रादेशिक अस्पताल भद्रपुर (मेची अस्पताल) लाई तीन थान भेन्टिलेटर, ५ थान सिरिन्ज पम्प र ५ थान इन्फ्युजन पम्प दिने निर्णय भयो । भद्रपुर अस्पतालले असार १७ गते एनआईसीयू र आईसीयूका लागि उपकरण माग गरेको थियो ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको अभिलेख अनुसार भद्रपुर अस्पतालमा कोभिडकालमा विभिन्न दाता र मन्त्रालयले दिएका १४ थान भेन्टिलेटर अझै थन्किएकै अवस्थामा छन् । ती उपकरण हुँदाहुँदै फेरि नयाँ माग गरिएको विषयमा अस्पतालका मेसु डा. सञ्जयकुमार गुप्ताले भने, “अस्पतालमा वर्षौंदेखि उपकरण माग गरिएको थियो; अहिले प्राप्त भयो । पहिलेका उपकरणहरू कोभिडकालका हुन्, हाम्रा बायोमेट्रिक इन्जिनियरले ती नचल्ने बताएपछि थन्क्याउनु परेको हो ।”
त्यसैगरी उदयपुरको कटारी अस्पताललाई पनि २ थान भेन्टिलेटर उपलब्ध गराउने निर्णय मन्त्रालयले गरिसकेको छ । शैलजा आचार्य हृदय केन्द्रका मेसु डा. वैभव मल्लिकका अनुसार मन्त्रालयको निर्णयपछि उपकरणहरू पठाइएको हो । अस्पतालमा सुरुमा ३५ थान भेन्टिलेटर थिए, जसमध्ये पूर्वाञ्चल विश्व विद्यालयले २ थान र भद्रपुरले तीन वटामध्ये एउटा लगेका छन् भने कटारीले लैजान बाँकी छ । अब त्यहाँ ३२ थान मेसिन बाँकी रहनेछन् ।
सरकारी उपकरणहरू प्रशासनिक प्रक्रियाबाट वितरण हुनुपर्नेमा किन मन्त्रीस्तरीय निर्णय नै आवश्यक प¥यो भन्ने प्रश्नमा स्वास्थ्य मन्त्री लिम्बुले भने, “उपकरणहरू वर्षौंदेखि थन्किएर बिग्रन लागेका रहेछन्; त्यसैले आवश्यक परेको अस्पताललाई दिएका हौँ ।” तर ‘प्रशासनिक कर्मचारीबाट हुने काम किन मन्त्रीस्तरीय निर्णयबाटै गर्नुभयो ?’ भन्ने जिज्ञासामा उनले थपे, “खै के स्तरीय निर्णय गरेर दिइयो, त्यो मलाई थाहा छैन ।”
यता स्वास्थ्य मन्त्रालयका अस्पताल विकास महाशाखा प्रमुख डा. रामहरि रेग्मीले भने उपकरणहरू बिग्रनबाट जोगाउन यस्तो कदम चालिएको दाबी गरे । “सामान थन्किँदा बिग्रने जोखिम बढेपछि कोशी प्रदेशकै जनताले सेवा पाउने गरी अन्य अस्पतालमा पठाइएको हो” रेग्मीले भने, “शैलजा आचार्य हृदय केन्द्रमा लामो समय डम्पमा बस्दा मेसिन बिग्रने चान्स हाई थियो, त्यसैले सदुपयोग होस् भन्ने हाम्रो उद्देश्य हो ।”
स्वयम् अस्पतालकै अवस्था नाजुक
जुन अस्पतालबाट उपकरणहरू बाँडिँदै छ, त्यसैको अवस्था भने दयनीय छ । शैलजा आचार्य प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउन निजी क्षेत्रबाट मात्रै करिब तीन करोड रुपैयाँ सहयोग जुटेको थियो । स्विस सरकारले ९६ शøयाको भवन, दुई वटा अक्सिजन प्लान्ट र फोहोर व्यवस्थापन प्रणाली जडान गरिदिएको छ ।
५० शय्याको यस अस्पतालमा ४२ जनाको कर्मचारी दरबन्दी छ । तर यति ठूलो पूर्वाधार र उपकरण भएको अस्पतालमा हाल जनरल सेवा र मुटुका बिरामीहरूको लागि ओपीडी सेवा मात्र उपलब्ध छ । अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवासमेत २४ घण्टा चल्दैन; दैनिक १२ घण्टा मात्र सञ्चालन हुने गरेको छ । आफ्नै अस्पतालको आकस्मिक सेवा पूर्णरूपमा चलाउन र थन्किएका उपकरण प्रयोगमा ल्याउन पहल गर्नुको साटो मन्त्रीले मन्त्रीस्तरीय निर्णय गराउँदै उपकरण अन्यत्र पठाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।