विजयपुर । नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको स्कारपियो गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।


सोमबार राति धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी–२० स्थित सेउती पुल नजिक भएको दुर्घटनामा गाडी चालक धरान–१३ निवासी बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ निवासी सुमन आचार्य गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले रातिनै मृत घोषणा गरेका थिए ।


दुर्घटनामा घाइते भएका धरान–२० निवासी पदम राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कारपियो सोमबार राति सेउती पुल नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।


गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।