धरान । सन् २०२२ को फिफा विश्वकप लियोनल मेस्सीका लागि ऐतिहासिक क्षण बन्यो । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिई पुनरागमन भएका मेस्सीले जीवनमा बाँकी रहेको विश्वकपको ट्रफी पनि उचाले । फेरि एक पटक त्यही ट्रफी नजिक पुगेका छन् ।

बिहीबार बिहानको राति भएको इङ्ल्याण्डसँगको प्रतिस्पर्धामा मेस्सीप्रेरित टोली अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै उपाधि होडमा पुगेको हो । अर्जेन्टिना राउन्ड अफ ३२ बाटै उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा पुग्ने एक मात्रै टोली हो । उसले राउन्ड अफ ३२ मा अन्डर डग देश केप भर्डेसँग प्रतिस्पर्धा गरेको थियो । जसमा इन्जुरी समयमा केप भर्डेलाई ३–२ गोलअन्तरले हराउँदै अन्तिम १६ मा पुगेको थियो ।

यस्तै अन्तिम १६ मा मोहम्मद सालहाप्रेरित इजिप्टसँग प्रतिस्पर्धा भएको थियो । जसमा इजिप्टले अर्जेन्टिनालाई दबावमा राख्न सफल भएको थियो । उक्त प्रतिस्पर्धामा रेफ्रीमाथि आरोपसमेत लागेको थियो भने इजिप्टले फिफामाथि मुद्दासमेत दायर गरेको समाचार बाहिरिएको थियो । जसमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलअन्तरले नै पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

यस्तै अन्तिम ८ मा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले जितेको थियो । जसमा पहिलो गोल स्विटजरल्याण्डले गरेको थियो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी खेलेका थिए । थपिएको ३० मिनेटको अन्तिम समयतिर अर्जेन्टिनाले पुनरागमन गर्न सफल भएको थियो । यसरी एकपछि अर्को खेलमा पुनरागमन गर्दै सेमिफाइलनमा आइपुगेको टोली अर्जेन्टिनाले पुनः उत्कृष्ट पुनरागमन गर्दै उपाधि होडमा पुगेको छ ।

इङ्ल्याण्डलाई ६ मिनेटका बीचमा दुई गोल गर्दै स्पेनसँगको भेट पक्का गरेको छ । स्पेन युरोपियन च्याम्पियन टोली हो भने अर्जेन्टिना दक्षिण अमेरिकी च्याम्पियन टोली हो ।

खेलमा इङ्ल्याण्ड जितको नजिक पुगेर पनि निराश बनेको छ । अर्जेन्टिनाले २–१ ले उत्कृष्ट पुनरागमन गर्दै इङ्ल्याण्डलाई निराश मात्रै बनाएन । मेस्सी फेरि एक पटक विश्वकप ट्रफी जितेर आफ्नो इतिहास लेखाउने चरणमा छन् । अमेरिकाको एटलान्टामा ६८ हजार दुई सय ३९ दर्शकमाझ खेलिएको सेमिफाइनलको दोस्रो हाफको १० औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

इङ्ल्याण्ड र अर्जेन्टिनाबीच २४ वर्ष पछि भेट भएको थियो । पछिल्ला भेटहरूको नतिजा विश्लेषण गर्ने हो भने महŒवपूर्ण प्रतियोगिताहरूमा इङ्ल्याण्ड पराजित हुँदै आएको थियो । सन् १९६६ पछि पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुग्ने इङ्ल्याण्डको लक्ष्य सही दिशामा जान नसक्दा विश्वकप यात्रामा पूर्णविराम लागेको छ ।

यी दुई राष्ट्रबीचको ऐतिहासिक प्रतिद्वन्द्विता कायमै छ । खेलको ८५औँ मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै एन्जो फर्नान्डेजले इङ्ल्याण्डसँगको बराबरी गोल गरेका थिए । इङ्ल्याण्डबाट गोर्डनले गोल गरेका थिए । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना जीवित रहिरहँदा मेस्सीकै उत्कृष्ट क्रसमा वैकिल्पक खेलाडीको रूपमा मैदान छिरेका लाउटारो मार्टिनेजले हेडमार्फत् निर्णायक गोल गरे ।  यो प्रदर्शनलाई सन् १९८६ मा डिएगो म्याराडोनाले इङ्ल्यान्डविरुद्ध देखाएको जादूसँग तुलना गरिएको छ ।

तर त्योबेला म्याराडोनाको जादूलाई फरक कोणबाट व्याख्या गरिँदै आएको छ । सन् १९६२ मा ब्राजिलपछि कुनै पनि टोलीले लगातार विश्वकपको उपाधि जित्न सकेको छैन । अब मेस्सी ब्राजिलियन दिग्गज काफुपछि तीनवटा विश्वकपको फाइनल खेल्ने विश्वकै दोस्रो खेलाडी बन्ने भएका छन् ।

सन् २०२६ को फाइनल आउँदो आइतबार न्युजर्सीको ‘न्युयोर्क न्युजर्सी स्टेडियम’ मा हुँदै छ । जहाँ विश्वकपको अन्तिम भिडन्त युरोप र दक्षिण अमेरिकाका वर्तमान च्याम्पियनहरूबीच हुनेछ । मेस्सीले ३९ वर्षको उमेरमा आएर इङ्ल्यान्डविरुद्ध पहिलो पटक खेल्ने अवसर पाएका छन् । अझ रोचक त के भने उनले जीवनमा पहिलो पटक स्पेनविरुद्ध आधिकारिक खेल खेल्दै छन् । जहाँ २००७ मा आफैले नुहाइदिएको शिशु लामिन यामालविरुद्ध प्रस्तुत हुँदै छन् ।

मेस्सीले आफ्नो व्यावसायिक फुटबल जीवन पनि स्पेनको बार्सिलोनामै बिताएका थिए । हाल उनी अमेरिकाको इन्टर मियामीमा खेल्दै आइरहेका छन् । सन् २०२२ मा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि उनको खेल जीवन पूर्ण भएको मानिएको थियो । इङ्ल्याण्डको रक्षात्मक रणनीति नै उनीहरूको लागि प्रत्युत्पादक बनेको छ । थोमस टुचेलको प्रशिक्षणलाई लिएर इङ्ल्याण्डका पूर्व कप्तान वायन रुनीले आक्रोस व्यक्त गरेका छन् । उनले टुचेलको रणनीतिका कारण नै इङ्ल्याण्ड पराजयको शिकार भएको उल्लेख गरेका छन् । खेलमा जुड बेलिङ्घम र कप्तान ह्यारी केन मुख्य खेलाडी भए पनि उनीहरू चल्न नसक्दा इङ्ग्ल्यान्डको विश्वकप जित्ने सपना चकनाचुर भएको छ ।

यता पहिलो सेमिफाइनल खेलमा स्पेनले २०२२ को उपविजेता टोली फ्रान्सलाई २–० गोलले हराउँदै घर फर्किन बाध्य बनाएको छ । यसपटक फ्रान्सलाई मुख्य दाबेदार मानिएको थियो तर स्पेनका अगाडि फ्रान्स फितलो सावित भएको छ । यसपटकको प्रतियोगिता पनि युरोपविरुद्ध दक्षिण अमेरिका भएको छ । सन् २०२२ मा पनि सोही स्थिति सिर्जना भएको थियो ।