काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील, बलियो र व्यावसायिक बनाउन आवश्यक नीतिगत सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भएको भेटवार्तामा प्रधानमन्त्री शाहले समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक लचकता अपनाउन आग्रह गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी सहकार्यबाट मात्रै मुलुकमा आर्थिक आत्मविश्वास बढाउन सकिने धारणा व्यक्त गरे । उनले पुँजी बजारमा आबद्ध सर्वसाधारण लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री शाहले मौद्रिक नीतिका केही सीमित तथा अप्ठ्यारा प्रावधानलाई पुनरावलोकन गर्दै सेयर बजारमा लगानी गर्ने वातावरण थप सहज बनाउनुपर्ने सुझाव दिए । साथै, उद्योग, व्यवसाय र रोजगारी विस्तारका लागि साना तथा ठूला उद्यमीलाई सहज रूपमा लगानी गर्न सक्ने वातावरण निर्माण गर्न तथा बैंकहरूको ब्याजदर र कर्जा प्रवाहका सर्तलाई उद्यममैत्री बनाउन आग्रह गरे ।
उनले महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूलधारमा ल्याउने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए । भेटका क्रममा गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीतिलाई व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गरे । सरकार र राष्ट्र बैंकको साझा उद्देश्य अर्थतन्त्रलाई गति दिनु रहेको उल्लेख गर्दै उनले कसैलाई अप्ठ्यारो पर्ने वा त्रसित बनाउने नीति नलिइने स्पष्ट पारे ।– रासस