विजयपुर । सुनसरी प्रहरीले इनरुवा बसपार्क क्षेत्रबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।


प्रहरीले २५.३४ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार इनरुवा–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पद व्यक्ति तथा सवारी साधनमाथि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।


प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को. ३८ प. २३८९ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्दा चालक धनकुटाको महालक्ष्मी नगरपालिका–९ का २३ वर्षीय उज्वल मादेन र पछाडि सवार भोजपुरको हतुवागढी गाउँपालिका–५ का ३२ वर्षीय रोशन राईको साथबाट २.८९ ग्राम ब्राउन सुगर बरामद भएको हो । प्रहरीले दुवै जनालाई लागूऔषध र स्कुटरसहित नियन्त्रणमा लिएको छ ।


पैदल हिँडिरहेका दुई जनामाथि पनि शंका लागेर चेकजाँच गर्दा मोरङको सुन्दरहरैँचा–१० का २७ वर्षीय राजन उराँव र उर्लाबारी नगरपालिका–४ का ३४ वर्षीय प्रकाश उराँवको साथबाट २२.४५ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई पनि तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ ।


दुवै घटनामा बरामद भएको लागूऔषधको परिमाण २५.३४ ग्राम पुगेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बरामद गरिएको पदार्थको प्रकृति, यसको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्तिको सम्भावित संलग्नता तथा लागूऔषध कारोबारको सञ्जालबारे अनुसन्धान जारी रहेको छ। प्रहरीले लागूऔषधको ओसारपसार र कारोबार नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ।