धरान । नेपालको शेयर बजारमा अहिले ‘सर्ट सेलिङ’ को व्यापक चर्चा परिचर्चा भइरहेको छ । नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते जारी गरेको बजेट वक्तव्यमा समेटिएपछि शेयर बजारमा ‘सर्ट सेलिङ’ को चर्चा चुलिएको हो ।

शेयर बजारमा यसलाई खस्कँदो बजारबाट समेत फाइदा लिन सकिने ‘टुल्स’ का रूपमा जानकारहरूले व्याख्या गर्दै आएका छन् । तर जानकारहरूले ‘रिस्क फ्याक्टर’ पनि उत्तिकै रहेको टिप्पणी गरिरहेका छन् । मितेरी डेभलपमेन्ट बैङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीले भने, “मार्केट सधैँ बढ्ने पनि हुँदैन, घट्ने पनि हुँदैन । शेयर बजार बढ्दा शेयर धनीले कमाउने भए । घट्दा चाहिँ कमाउने भएनन् । यस्तो अवस्थामा घट्दा पनि कमाउने सकिने टुल्स नै सर्ट सेलिङ हो । यसमा आफूसँग नभएको शेयर पनि बेच्न पाइयो । तर सर्टेन समयपछि जोसँगबाट लिएको हो, त्यसलाई किनेर फिर्ता गर्नुपर्छ ।”

धितोपत्र बोर्डले हालै जारी गरेको प्रस्तावहरूमध्ये यो पनि एक हो । नेपालको पुँजी बजारमा केही विशिष्ट वित्तीय उपकरणहरूमध्ये सर्ट सेलिङ पनि एक हो । बजार ओरालो लाग्दा पनि नाफा कमाउन सकिने भनिएको छ । यो विश्वका अन्य मुलुकमा विगतदेखि नै अभ्यास हुँदै आइरहेको छ भने नेपालमा हालैका वर्षबाट लागू गर्ने तयारीमा छ । बोर्डले नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनका लागि यही साउन १४ गते विश्वमा प्रचलित चारवटा वित्तीय उपकरणहरूबारे चर्चा गरेको छ । जसमा सर्ट सेलिङलाई पनि प्राथमिकतामा राखेको छ ।

बोर्डले साउन १४ गते भएको निर्णयलाई सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी पुँजी बजारको विकासक्रमले देखाएको अनुभव अनुसार प्रचलित धितोपत्र वित्तीय सेवा मार्जिन लेण्डिङ, सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ र सर्ट सेलिङ सञ्चालन व्यवस्थाका लागि सरोकारवाला पक्षहरूको राय÷सुझाव लिनका लागि ‘नेपालको धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र सर्ट सेलिङको लागि गर्नुपर्ने नीतिगत, कानूनी, संरचनागत तथा प्राविधिक व्यवस्थासम्बन्धी अवधारणापत्र, २०८३’ विषयक कन्सुलेसन पेपर पहिलो पटक बोर्डबाट सार्वजनिक गरिएको छ ।”

नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते जारी गरेको बजेट वक्तव्यको ३६ नम्बर बुँदामा उक्त कुरालाई समेटिएको थियो । उक्त बुँदामा भनिएको थियो, “नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना अघि बढाई इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गनेछौँ । शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अबाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति लिनेछौँ ।” बजेट वक्तव्यमा सार्वजनिक भएलगत्तै बोर्डले यही साउनदेखि सर्ट सेलिङलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

धरानस्थित अनलाइन सेक्युरिटिज लिमिटेडका शाखा प्रबन्धक सुजन निरौलाका अनुसार बजार घट्दै जाँदा पनि कमाउने सकिने टुल्सको रूपमा सर्ट सेलिङ रहेको बताए । “यो बजार घट्दा पनि कमाउने सकिने भयो । घट्ने ट्रेन्डमा पनि कमाउने सकिने भयो” उनले भने, “यो विश्वबजारमा अभ्यास हुँदै आएको थियो । कमोडिटिज मार्केटमा यसअघि नै अभ्यासमा थियो । तर शेयर बजारमा थिएन । यो पटक चाहिँ बहस हुँदै आएको छ ।”

हाल यसको कार्यविधि बन्ने चरणमा छ । बोर्डले पनि सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । धरानस्थित एबीसी सेक्युरिटिज लिमिटेडका शाखा प्रमुख योगेश अग्रवाल भन्छन्, “अहिले कार्यविधि बन्ने चरणमा छ । कार्यविधि बनेपछि सर्ट सेलिङ कसरी गर्ने, कति अवधिभित्र कारोबार गरी फिर्ता गर्ने विषयहरू आउलान् ।” उनका अनुसार सर्ट सेलिङ पनि दुई प्रकारको हुन्छ । पहिलो प्रकारमा कभर्ड (छोपिएको) र दोस्रो प्रकारमा न्याकेट (नग्न) । नेपालमा आउन लागेको चाहिँ कभर्ड किसिमको सर्ट सेलिङ रहेको उनले बताए ।

के हो ‘सर्ट सेलिङ’ ?
खासमा शेयर बजारमा लगानीकर्ताको शेयर रकम बढ्छ भन्ने ग्यारेन्टी मात्रै हुँदैन, कुनै बेला बजार घट्छ पनि । शेयर मूल्य बढेपछि मात्रै बेचेर नाफा कमाउने गर्छन् । त्यो सधैँ सम्भव हुँदैन । बजार मूल्य घट्दा पनि शेयर सापटी लिई बिक्री गर्ने र निश्चित मुनाफा कमाउने वित्तीय उपकरणलाई सर्ट सेलिङ भनिन्छ । यो बजार घट्दा पनि नाफा कमाउन सकिने अवधारणा हो ।

“आफ्नो खातामा शेयर छैन भने पनि बेच्न सकिने अवधारणा हो” एबीसी सेक्युरिटिसका शाखा प्रमुख अग्रवाल भन्छन्, “पछि जोसँग शेयर सापटी लिएको हो उसलाई फिर्ता गर्नुपर्छ । यसले गर्दा खातामा शेयर नहुँदा पनि कमाउने सकिने अवधारणा हो ।”  मितेरी विकास बैङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत वस्तीका अनुसार घट्दो मार्केटमा पनि कमाउन सकिने उपकरणको रूपमा बुझ्नुपर्यो । आफूसँग नभएको शेयर बेचिरहन पाइयो ।”

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरि पराजुलीले बीबीसी नेपाली सेवालाई भनेका छन्, “वास्तवमा सर्ट सेलिङ भनेको आफूसँग नभएको शेयर बिक्री गरेर फाइदा गर्नु हो । कुनै शेयरको मूल्य अब घट्छ भन्ने अनुमानमा आफूसँग नभएका त्यस्तो शेयर सापटी लिइन्छ अनि तत्काल बेचिन्छ । मूल्य घटेपछि फेरि तिनै शेयर किनिन्छ र सापटी फिर्ता गरिन्छ ।” उनले उदाहरण दिँदै थप भनेका छन्, “उदाहरणका लागि कसैले ५ सय रुपैयाँ प्रतिकित्ता मूल्य रहेको कुनै शेयर अब घट्छ भन्ने अपेक्षा गर्छ भने आफूसँग नभएको त्यस्तो शेयर सापटी लिएर बेचिदिन्छ अनि भाउ घटेर ४ सयमा आइपुग्दा फेरि किनेर फिर्ता दिन्छ ।”

सर्ट सेलिङमा के खतरा छ ?
धेरैको बुझाइमा नेपालजस्तो शेयर साक्षरता कम भएको देशमा सर्ट सेलिङलाई ‘जुवा’ कै अर्को रूप मान्छन् । सर्ट सेलिङ गर्दा सापटी लिएको शेयर घट्छ नै भन्ने हुँदैन बढेको अवस्थामा थप खतरा हुने बुझाइ उनीहरूको छ । मितेरी विकास बैङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत वस्ती भन्छन्, “नेपालजस्तो मार्केटमा चाहिँ सर्ट सेल त्यति राम्रो हुँदैन । शेयर बुझ्नेका लागि त सर्ट शेल एकदमै राम्रो हो । नबुझ्नेका लागि चाहिँ खतरा हुन्छ । जुवा जस्तो हुन्छ । आफूसँग नभएको शेयर बेच्ने टुल्स हो । ठूलो जुवा जस्तो भयो । नभएको सेयर बेच्न पाएपछि हौसिन्छन् । मार्केटलाई भोलाटाइल गर्ने सम्भावना बढी हुन्छ ।”

एबीसी सेक्युरिटिजका शाखा प्रमुख अग्रवाल पनि ‘रिस्क फ्याक्टर’ रहेको बताउँछन् । उनका अनुसार बजार घट्दो, बढ्दो भइरहने भएकाले घट्छ भन्ने ग्यारेन्टी गर्न सकिने अवस्था हुँदैन । अनुमानका भरमा गरिने कामले कुनै पनि बेला खतरा हुने उनको बुझाइ छ ।

विश्वको अभ्यास के छ ? 
विश्व मार्केटमा यसको प्रयोग व्यापक हुँदै आइरहेको छ तर कतिपय देशहरूमा सर्ट सेलिङ खतराको घण्टीको रूपमा पनि रहेको पाइएको छ । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटका बेला अमेरिकाको नियामक निकायले सर्ट सेलिङमाथि केही समय प्रतिबन्ध लगाएको इतिहास छ । धेरै देशहरूमा सर्ट सेलिङको प्रयोग हुने गरेको र यसले पुँजी बजारलाई थप चलायमान बनाउँदै आएको जनाइएको छ ।

विश्वव्यापी पुँजी बजारको विकासक्रमले देखाएको अनुभव अनुसार मार्जिन लेण्डिङ, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट सेलिङ जस्ता नयाँ सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी तथा दक्ष बनाउने महत्वपूर्ण आधार तयार गरेको बोर्डले जनाएको छ । बोर्डले धितोपत्र वित्तीय सेवाको सफल कार्यान्वयनबाट नेपालको पुँजी बजारमा स्थायित्व कायम हुने, तरलता अभिवृद्धि हुनुका साथै लगानीकर्ता (व्यक्तिगत तथा संस्थागत) को सहभागिता विस्तार हुने र लगानीकर्तालाई नयाँ वित्तीय उपकरणहरू उपलब्ध हुने तथा निजी क्षेत्रको दीर्घकालीन पुँजी परिचालनमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको छ ।

ggg