धनकुटा । धनकुटामा ट्रकमा लुकाइछिपाई ओसारपसार गरिएको ६ सय ४७ किलोग्राम गाँजासहित पक्राउ परेका दुई जनालाई यूवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार बिहान साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ का ३६ वर्षीय तुलराम राईलाई पक्राउ गरिएको धनकुटाका प्रहरी उपरीक्षक रञ्जितकारले जानकारी दिए ।

ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखिएको ४८ वटा पोकामा रहेको गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद भएको ४८ वटा पोका गाँजाको तौल गर्दा ६ सय ४७ किलोग्राम रहेको पुष्टि भएको प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

यस्तै प्रहरीले गत साउन १३ गतेदेखि २० गतेसम्म धनकुटा जिल्लाका विभिन्न स्थानबाट ४३ रोपनी क्षेत्रफलमा ११ हजार ८ सय ५० बोट र ७ हजार ३ सय बेर्ना गरि १९ हजार १ सय ५० बोट गाँजा नष्ट गरिएको प्रहरी पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी प्रहरीले गत साउन १२ गतेदेखि यता ५ जनालाई लागुऔषध ट्याब्लेट र गाँजा सहित पक्राउ गरेको जानकारी दिएको छ ।

उनीहरु सहित ट्रामाडोल ५० लेखिएको ७ सय ५० ट्याब्लेट, डाइसाइक्लोमाइन हाइड्रोक्लोरिक आइपी २० लेखिएको ४ सय ६० ट्याब्लेट, डाइसाइक्लोमाइन एचसिआइ आइपी २० लेखिएको ३ सय ७० ट्याब्लेट र १ हजार ४ सय ५१ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ । सो क्रममा गाँजा ओसारपसारमा संलग्न रहेको एउटा ट्रक सहित केही थान मोबाइल अनुसन्धानका लागि ल्याएको जनाएको छ ।