चाइल्ड केयरमा केटाकेटीलाई पढाउने गोमा आफ्नै छोरालाई भने ध्यान दिएर नपढेको भनेर कुट्दै थिइन् । छोराले अरु बच्चाहरूलेजस्तो नपढी एकोहोरो भएर बसिरहने गरेको गोमाको भनाइ थियो । तर, उनका श्रीमान् भने आफ्नो छोराको बचाउ गरिरहेका थिए ।
गोमालाई सिकाइमा व्यक्तिगत भिन्नता रहन्छ, सबैको क्षमता एकैनासको हुँदैन, मानसिक अथवा बौद्धिक क्षमताको विकास निश्चित उमेर समूहको बुद्धिअनुसार नै हुँदै जाने हो भन्ने ज्ञान थिएन । श्रीमान् भने गोमासँग आफ्नो नानीमा फरक समस्या रहेको जिकिर गरिरहन्थे । छोरा अटेरी, जिद्दी, कपटी भएको भन्दै गोमा अफ्नो चार वर्षीय छोरालाई कराइरहन्थिन् ।
श्रीमान्को अगुवाइमा जब बच्चालाई बालरोग विशेषज्ञकोमा लगियो, अनि थाहा लाग्यो, नानी कपटी होइन, विशेष प्रकारको उपचारको पर्खाइमा पो रहेछ । त्यसपछि उसलाई व्यावहारिक थेरापीका लागि काउन्सेलिङमा लगियो । त्यो बच्चालाई सामाजिक थेरापी अनि स्पिच थेरापीका निमित्त सम्बन्धित एक्सपर्टको सम्पर्कमा लगियो । डाक्टरले त्यो नानीलाई ‘अटिजम’ भएको जानकारी गराए । त्यसपछि डाक्टरको सल्लाहबमोजिम उनको उपचार भइरहेको छ ।
आज अटिजम सचेतना दिवस अथवा अटिजमका बारेमा सचेतना जगाउने दिन । आज सबै शिक्षित, अनुभवी र योसम्बन्धी जानकारले कम्तीमा आफ्ना सम्पर्कका परिवारलाई बुझाउने दिन । देशका विभिन्न ठाउँमा अटिजमसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू गर्दै यो दिवस मनाइएको छ ।
भनिन्छ, विश्वको जनसङ्ख्याको १ प्रतिशत, त्यसमा नेपालमा मात्र करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका छन् ।
अटिजम के हो ?
अटिजम एक प्रकारको न्युरो डेभलोप्मेन्ट डिसअर्डर हो । यसमा बालबालिकाहरू सामान्य बालबालिकासरह गतिविधि देखाउन असक्षम हुन्छन् भने केहीले अस्वभाविक गतिविधि देखाउने गर्छन् । यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यवहारिक विकास, सामाजिक विकास अनि एक–अर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन ।
छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिँडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा कठिनाइ आउने गर्छ । बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ । यसै उमेरमा उसले हातखुट्टाको प्रयोग गर्ने, साथीभाइहरूसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने मिलेर खेल्ने ईष्र्या गर्ने गर्छन् । तर यदि नानीहरूमा सो प्रकृतिका क्रियाकलापहरू हामीले पाउन सकेनौं भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनु पर्छ ।
अटिजमका लक्षण
बालबालिका दुईदेखि तीन वर्षको हुँदा अटिजमका लक्षण तथा चिह्न निगरानी गरिनुपर्छ । सामान्यतया अटिजममा केही लक्षण, चिह्न तथा सङ्केत देखापर्छन् ।
केहो अटिजम ? लक्षण र रोकथाम
– साथीभाइलाई धकेल्ने, कुटपिट गर्ने,
– सिधा आँखा जुधाएर गफ गर्न नसक्ने,
– रोइरहने,
– एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने,
– कुनै क्रियाकलाप गर्दा एकोहोरिने,
– आफूलाई चोटपटक लागेको थाहा नपाउने,
– पढाइलेखाइमा ध्यान केन्द्रित नहुने,
– अरुलाई हानि पु¥याउने गतिविधि गर्ने,
– बोलेर आफ्ना कुराहरू व्यक्त गर्न नसक्ने,
– मनमा लागेको कुरा भन्न नसक्ने,
– साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने,
अटिजमको प्रतिशत कसरी कम गर्ने ?
अटिजम यही कारणले हुन्छ भन्ने यकिन तथ्य विज्ञहरूसँगै नै नरहे पनि जेनेटिकलाई प्रमुख कारण मान्नेहरू बहुमतमा छन् । यसको कुनै उपचारभन्दा पनि नानीहरू दुई वर्ष हुँदा अथवा उसमा शारीरिक क्रियाकलाप र सञ्चारका बारेमा अवलोकन र निदान नै यो समस्याको रोकथाम हो ।
साथै समयमा नै गरिने मनोवैज्ञानिक परामर्श, सामाजिक परामर्श, बोलीमा समस्या भएकाहरूलाई स्पिच थेरापी, कम्युनिकेसन यसको प्रतिशत कम गर्ने उत्तम उपाय हुन् । विशेषगरी दुई वर्षसम्मको हुँदा बच्चाको निम्न कुरामा विकास भएको छैन भने ख्याल गर्नुपर्छः
– १८ महिनापछि पनि हिँड्न सक्दैन भने,
– दैनिक प्रयोग गर्ने सामान चलाउन सक्दैन भने,
– १८ महिना हुँदा पनि कम्तीमा ६ शब्द प्रयोग गर्न सक्दैन भने,
– २४ महिनाको हुँदा २ शब्द जोडेर हरफ बनाउन सक्दैन भने,
– बोली वा ठूलोले गर्ने कार्य नक्कल गर्दैन भने,
– सरल कुरा गर भन्दा पनि बुझ्दैन रगर्दैन भने,
– पहिला सिकेको कुरा बिर्सिंदै जान्छ भने,
तीन वर्षको हुँदा
– आफ्नो परिवारभन्दा बाहिरको मान्छेसँग घुलमिल गर्दैन भने,
– अरु बच्चाहरूसँग खेल्दैन भने,
– अरुसँग आँखा जुधाउन सक्दैन भने,
– बल फ्याँक्न सक्दैन वा उफ्रिन सक्दैन भने,
– २ खुट्टाले १–१ गरी सिँढी चढ्न सक्दैन भने,
– लेख्न सक्दैन भने,
– बोल्दा १ हरफमा ३ वटाभन्दा बढी शब्द प्रयोग गर्न सक्दैन भने,
– हरफ पूरा गर्न सक्दैन, बीचमा अड्किन्छ भने,
स्वास्थ्यखबरबाट