विजयपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा करिब १० करोड रुपैयाँको लागतमा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ।
केन्द्र निर्माणका लागि नेपाल सरकार, भारत सरकार र टेम्केमैयुङ गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
परियोजनाको कुल लागत ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ ९० पैसा रहेको छ। लागतको ९५ प्रतिशत भारत सरकारको अनुदान र बाँकी ५ प्रतिशत रकम टेम्केमैयुङ गाउँपालिकाले व्यहोर्नेछ। भारत सरकारको तर्फबाट करिब ९ करोड ३९ लाख २४ हजार रुपैयाँ र गाउँपालिकाबाट करिब ४९ लाख ४३ हजार रुपैयाँ लगानी हुनेछ।
परियोजना निर्माण सम्पन्न गर्न १५ महिनाको अवधि तोकिएको छ। निर्माणको जिम्मेवारी गाउँपालिकाले लिनेछ भने भारत सरकारबाट प्राप्त हुने अनुदान रकम कार्यप्रगतिका आधारमा ६ किस्तामा निकासा हुने व्यवस्था गरिएको छ।
परियोजनाको प्रभावकारी कार्यान्वयन तथा अनुगमनका लागि नेपाल सरकार, भारतीय दूतावास, जिल्ला समन्वय समिति र गाउँपालिकाका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिनेछ।
परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित प्रतिनिधि, नेपालस्थित भारतीय दूतावास तथा टेम्केमैयुङ गाउँपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समझदारीपत्रमा नेपाल सरकारका उपसचिव होमनाथ काफ्ले, भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनाश कुमार सिंह र टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले हस्ताक्षर गरेका छन्।
कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएपछि स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको संकलन, भण्डारण, बजारीकरण तथा बिक्रीलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट किसानले आफ्ना उत्पादनका लागि सहज बजार पाउनुका साथै बिचौलियामा निर्भरता घट्ने अपेक्षा गाउँपालिकाले गरेको छ।
केन्द्रबाट टेम्केमैयुङ गाउँपालिकासँगै भोजपुर र छिमेकी खोटाङ जिल्लाका किसानसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ। स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्ने पूर्वाधारका रूपमा परियोजनालाई हेरिएको छ।