बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० भन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण ठूलो संख्यामा घर तथा अन्य संरचनामा क्षति पुगेको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मानवीय क्षति अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
भूकम्पको केन्द्रबिन्दु चोको क्षेत्रको सान होसे डेल पालमार नजिक रहेको थियो। यसको कम्पन काली, पेरेरा, क्विब्दो र मनिजालेसलगायतका शहरहरूमा समेत महसुस गरिएको थियो। प्रारम्भिक विवरणअनुसार करिब १,५७५ घर, १८ स्वास्थ्य केन्द्र र ५२ विद्यालयमा क्षति पुगेको छ भने कम्तीमा ६१ भवनहरू पूर्ण रूपमा भत्किएका छन्।
भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरूको खोजी गर्न सैनिक, उद्धारकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ। केही क्षेत्रमा सडक तथा सञ्चार संरचनामा क्षति पुगेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। भूकम्पपछि २१ वटा परकम्प समेत रेकर्ड गरिएको बताइएको छ।
नवनियुक्त राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएलाले प्रभावित क्षेत्रमा आपत्काल घोषणा गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाउन सरकारी संयन्त्र परिचालन गरेका छन्। सरकारले प्रभावित परिवारलाई सहयोग तथा अस्थायी आवास उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यसैबीच संयुक्त राज्य अमेरिकाले कोलम्बियाको आपत्कालीन राहतका लागि १ करोड ५५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। अन्य देशहरूले पनि सहयोगको प्रस्ताव गरेका छन्। अधिकारीहरूले परकम्पको जोखिम कायमै रहेकाले क्षतिग्रस्त भवनमा प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।