विजयपुर । लागू औषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


कोशी प्रदेश प्रहरीका अनुसार विभिन्न जिल्लाबाट लागू औषध कारोबार तथा ओसारपसारमा संलग्न १३ जनालाई पक्राउ गरिएको छ । झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट १६ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगर, ५ सय ८८ चक्की प्रतिबन्धित औषधि, २० किलोग्राम गाँजा तथा ४ वटा सवारी साधन बरामद गरिएको प्रहरीले जनाएको छ । झापामा इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–२ का ३१ वर्षीय विवेक राजवंशी, २८ वर्षीय रेगन राजवंशी र ३१ वर्षीय संजयकुमार राजवंशीलाई ९ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । उनीहरू सवार प्रदेश १–०१–०१२ प ५६६८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।


यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरले मे ९ प ४०७१ नम्बरको स्कुटरमा सवार बिर्तामोड–९ का ३५ वर्षीय राजकुमार कामती र उनकी श्रीमती मनिका कामतीलाई ९ ग्राम ८ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।


मोरङको कानेपोखरी–७ का २७ वर्षीय समिर राईलाई ४ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित अस्थायी प्रहरी चौकी कानेपोखरीले पक्राउ गरेको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१७ का २५ वर्षीय सोहराब आलमलाई ७४० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।


सुनसरीमा अस्थायी प्रहरी चौकी जोरसखुवाले धरान–११ का २४ वर्षीय मियोङ लिम्बुलाई ट्रामाडोल २ सय ९४ क्याप्सुल र प्रतिबन्धित औषधि २ सय ९४ चक्कीसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीले धरान–१५ का २० वर्षीय एमिल राईलाई ५० ट्याब्लेट निट्राजेपामसहित नियन्त्रणमा लिएको छ ।


उदयपुरमा प्रहरी चौकी रिस्कुबाट खटिएको चेकिङ टोलीले उदयपुरगढी गाउँपालिका–६ का ३० वर्षीय नरबहादुर पुलामी मगरलाई २० किलोग्राम गाँजासहित पक्राउ गरेको छ ।


धनकुटामा प्रहरी चौकी आखिसल्लाले धनकुटा नगरपालिका–७ का २९ वर्षीय दर्शन राई, धनकुटा–१० का २८ वर्षीय नमुनेश भुजेल तथा सहिदभूमि गाउँपालिका–२ का २३ वर्षीय आयुष राईलाई ६ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । उनीहरूबाट प्र.३–०२–००१ प ८४३० नम्बरको स्कुटर र प्र.०२–०५० प ६५६६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित प्रहरी कार्यालयहरूमा लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।