चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा विद्युतीय मतदानको व्यवस्था गरिएको छ ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा थिचेर मतदान गर्न सक्नेछन् । पहिलो चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ ।
केसीका अनुसार निर्वाचित सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन गरिनेछ । उनले असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रक्रिया सुरु गरी सोही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी रहेको जानकारी दिए ।
उनका अनुसार असार ८ गते रातिसम्म पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते हुनेछ । दोस्रो चरणमा पदाधिकारी पदका लागि मात्र मतदान गरिनेछ ।
केसीले महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको बताए । विदेशमा रहेर महाधिवेशनमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाइँदै छ ।
विदेशस्थित १ सय ७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले एपमार्फत मतदान गर्न सक्नेछन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यहरूले उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था छ ।
प्रमुख केसीले आफूहरू मतदान प्रक्रियामा सहभागी नभई तटस्थ र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउने बताए । रासस