काठमाडौँ । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव सक्रिय रहेको छ भने अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश तथा देशका अधिकांश हिमाली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ । मधेस प्रदेशमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ ।
विभागका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा वा हिमपात हुन सक्ने बताइएको छ ।
त्यसैगरी, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर (हीट वेभ) को प्रभाव रहने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्न सक्ने जनाएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ । कोशी प्रदेशको तराई क्षेत्रमा समेत बदली रहने अनुमान गरिएको छ भने मधेस प्रदेश तथा अन्य क्षेत्रहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । साथै, मधेस प्रदेशका एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस