भद्रपुर । लागूऔषधको देशभरिकै ट्रान्जिट पोइन्ट बनेको झापामा मेचीनगर, भद्रपुर, बिर्तामोड र दमक सबैभन्दा बढी प्रभावित हुने स्थान बनेका छन् ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिको वारदात स्थलको आधारमा प्राप्त तथ्याङ्कमा सबैभन्दा बढी मेचीनगरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा सबैभन्दा बढी सीमावर्ती क्षेत्र मेचीनगरमा पक्राउ परेका हुन् । मेचीनगरमा ९२, भद्रपुरमा ७७, बिर्तामोडमा ४५, दमकमा ३२, अर्जुनधारामा १६, गौरीगञ्जमा १३, कमलमा ७, गौरादहमा ६, बुद्धशान्तिमा ५, कचनकवलमा २ र हल्दीबारीमा एकजना पक्राउ परेका छन् ।

पाँचवर्षे तथ्याङ्कलाई हेर्दा झापामा लागूऔषधको घटना बढ्दो छ । २०७८/०७९ मा २ सय जना, २०७९/०८० मा २ सय ६, २०८०/०८१ मा २ सय ९७, २०८१/०८२ मा ३ सय ४५ र चालु आर्थिक वर्षको जेठ सम्ममा ३ सय ५२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले तीन महिनाको अवधिमा नियन्त्रणमा लिइएका ९४ जनामा सर्वेक्षण गरेको थियो । जसअनुसार लागूऔषधमा संलग्न ९८ प्रतिशत पुरुष रहेका छन् । २० देखि ४० वर्ष उमेर समूहका ९० प्रतिशत युवा छन् । लागूऔषधमा फस्नेहरूमा अधिकांश मजदुर वर्गको रहेको जनाइएको छ । होटल लजमा काम गर्ने, टेक्निसियन, मिस्त्री, चालक ९१ प्रतिशत संलग्न रहेको पाइएको छ । दुई प्रतिशत विद्यार्थी संलग्न रहेको प्रहरीको आँकडामा देखिएको छ ।

त्यस्तै ७४ प्रतिशत विवाहित मानिसहरू संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । १५ प्रतिशत बाहिरबाट आउनेहरू छन् भने ७० प्रतिशतले शरीरको गोप्य अङ्गमा लागूऔषध लुकाएर ल्याउने गरेको अनुसन्धानमा खुलेको एसपी वसुन्धरा खड्का बताउँछिन् । योसँगै जिल्लामा १५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनी लुकेर रहेको तथ्याङ्क देखिएपछि जिल्ला प्रहरी कार्यालयले ‘लागूऔषधविरुद्ध झापा अभियान’ सुरु गरेको एसपी खड्का बताउँछिन् ।

तर लागूऔषधको क्षेत्रमा काम गर्ने संस्थाका अनुसार झापामा २० हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । जिल्लामा ४० वटा पुनस्र्थापना केन्द्रमा सरदर ३० जनाका दरले एक पटकमा १ हजार २ सय जना उपचारमा जाने गरेका छन् भने बाँकी बाहिर छन् । झापामा कारोबारीको सङ्ख्या पनि उत्तिकै रहेको छ । सवडिलर टोलैपिच्छे रहेको बताइन्छ । झापामा सक्रिय डिलर ५० देखि ५२ वटासम्म रहेको प्रहरीले अनुमान गरेको छ । तथ्याङ्कका आधारमा स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर लागूऔषध आपूर्ति गर्ने गरेका छन् । बिर्तामोडमा ११–१२ जति ठूला डिलर छन् भने घुम्ती बिक्रेता ५–७ वटा टिम रहेको प्रहरीले अनुमान लगाएको छ । सुरु सुरुमा किनेर लागूऔषध प्रयोग गर्नेहरू पछि बिक्रेता बन्ने गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरिसकेको छ ।

जिल्लामा लागूऔषधको वास्तविक आकार प्रहरीले देखेको भन्दा धेरै ठूलो रहेकोे  प्रहरीको बुझाइ छ । प्रहरीले देखेको र कारबाही गरेको सङ्ख्या समस्याको टुप्पो मात्र भएको एसपी खड्काले बताइन् । समाजभित्र लुकेको लागूऔषध दुव्र्यसनीहरूको हिस्सा भयानक रहेको उनले जानकारी दिइन् । उनका अनुसार लागूऔषधमा संलग्न भएका कारण जिल्लामा ९ सय २४ जना राज्यको नियन्त्रणमा रहेका छन् । कैदी ३ सय ७६ जना, बन्दी ३ सय ४० जना र २ सय ८ जना हिरासतमा छन् । त्यस्तै लागूऔषधको दुव्र्यसनबाट छुट्कारा पाउने १ हजार ३ सय ९५ जना स्वउपचारमा छन् । १ हजार २ सय ६२ जना पुनस्र्थापना केन्द्रमा र १ सय ३३ जना ओएसटी प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।

लागूऔषधको सङ्कटको मुख्य जरो भारतसँगको खुल्ला सीमा रहेको छ । भारतीय सीमावर्ती क्षेत्र पानीट्याङ्की, गलगलिया, दिघलबैङ्कलगायतका क्षेत्रबाट झापामा लागूऔषध आपूर्ति हुने गरेको छ । खुल्ला सीमा, साथीको सङ्गत, बेरोजगारी र गरिबी, पारिवारिक मौनता, सहज उपलब्धता, विद्यालयको कमजोर निगरानी, मानसिक तनावजस्ता कारणले लागूऔषधमा फस्ने गरेको विभिन्न घटनाक्रमले देखाएको छ । लागूऔषधकै कारण चोरी डकैती र अपराध वृद्धि, घरेलु हिंसा, आत्महत्या र दुर्घटना, मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन, सामाजिक अस्थिरता र डरजस्ता समस्या देखिने गरेको छ ।