धरान/मनाहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठसहित तीन जना फरक फरक विधामा सम्मानित भएका छन् । 

झापाको शिवसताक्षीस्थित सताक्षी प्रेस क्लबले शनिबार झिलझिलेमा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेको कार्यक्रममा सम्पादक श्रेष्ठलाई नगद १० हजार पाँच सय एक रुपैयाँ नगदसहितले सम्मानित गरिएको हो । पत्रकारितामार्फत समाजलाई योगदान पुर्‍याएको भन्दै कार्यकारी सम्पादक श्रेष्ठलाई सम्मानित गरिएको अध्यक्ष सेलिङ केसीले जनाए । यस्तै कवि कजलकार लीला अनमोललाई रोजिन स्मृति साहित्य पुरस्कारबाट सम्मानित छ । यस्तै आख्यानकार रञ्जिला लिम्बूलाई रत्न, लोक, लीला लावती स्मृति साहित्य पुरस्कारबाट सम्मानित गरिएको हो । सबैलाई दोसल्लासहित सम्मान पत्रले सम्मानित गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मनु मन्जिल, क्लबका अध्यक्ष सेलिङ केसी, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा, प्राज्ञ कवि मुनराज शेर्मालगायतले दोसल्ला ओढाई सम्मानित गरे । कार्यक्रममा पाँच जना कविहरूले कविता वाचन गरी साहित्यमय वातावरण निर्माण गरे । कार्यक्रममा कवि चन्द्र गुरुङ, मीना श्रेष्ठ, गजलकार कृष्ण काश्यप, कवि निर्मला प्रधान र युगयोगी राईले कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि मञ्जिलले अहिलेका पुस्तामा करुणा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले आफूले सबैभन्दा माथि करुणालाई नै राख्ने बताए । करुणाबाट प्राप्त हुने सुन्दर उपहार नै कविता हुने उनले बताए । 

यस्तै विशेष अतिथि नगर प्रमुख थोप्राले विगतमा साहित्य मनोरञ्जन र ज्ञानको भण्डारको रूपमा लिने गरेको बताए । अहिलेको पुस्ताले पुस्तक अध्ययनमा कत्ति पनि ध्यान नदिने गरेको प्रष्टाउँदै उनले भने, “हाम्रो कालमा साहित्य पढेर आनन्द लिन्थ्यौँ, मनोरञ्जनको माध्यम हुन्थ्यो । अहिले त्यो हराएर गएको छ । अहिलेको पुस्ताले पुस्तक पढ्दैनन् । हरेक समय मोबाइलमा घोप्टिन्छन् ।” कार्यक्रममा कवि बलिभद्र कोइराला, कवि अभागी थेगुवा, कवि विराट किराती, गजलकार निहाङ किरातीलगायतको सहभागिता रहेको थियो ।