विजयपुर । निजी तथा संस्थागत विद्यालयहरूको संगठन प्याब्सन र एन–प्याब्सन धरान नगर समितिले अवैधानिक शुल्क नलिएको दाबी गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी विद्यालयविरुद्धको भ्रामक प्रचारप्रसार तथा नगरपालिकामा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् । दुवै संस्थाले विद्यालयका गतिविधिसम्बन्धी उठेका भ्रम तथा शुल्क निर्धारण सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । प्याब्सन धरानका नगर अध्यक्ष दीपक घिमिरे र एन–प्याब्सन धरानका नगर अध्यक्ष भगत लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय केही व्यक्ति तथा समूहले विद्यालयको शैक्षिक र प्रशासनिक वातावरण प्रभावित पार्ने उद्देश्यले गतिविधि गरिरहेको उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा प्याब्सन अध्यक्ष घिमिरेले धरान उपमहानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत अधिकृत चन्द्रकुमारी राई तथा सञ्चारकर्मी बताउने सञ्जीता धमलाबाट अभद्र व्यवहार भएको आरोप लगाउँदै आवश्यक परे कानुनी उपचारको बाटो अपनाइने चेतावनी दिए ।
उनीहरूले ‘नेचर क्लब’को उद्देश्य, कार्यविधि र वैधानिकतामाथि समेत प्रश्न उठाएका छन् । विज्ञप्तिमा सञ्जीता धमलाले नेचर क्लबको नाममा अराजक गतिविधि गरिरहेको दाबी गरिएको छ । उक्त क्लबले विभिन्न मेला तथा कार्यक्रम आयोजना गर्ने भएकाले त्यसको भूमिकामाथि प्रश्न उठाइएको छ । धमलाले आफूले दुर्व्यवहार नगरेको दाबी गरेकी छन् । उनले क्लब वैधानिक संस्था भएको पनि दाबी गरिन् ।
सामाजिक सञ्जालमा विद्यालयहरूले अत्यधिक शुल्क असुलेको भन्दै सार्वजनिक गरिएका बिलहरू तथ्यहीन रहेको विद्यालय सञ्चालकहरूको दाबी छ । उनीहरूका अनुसार सार्वजनिक भएका अधिकांश बिल वार्षिक शुल्कसम्बन्धी हुन् भने केही अवस्थामा अभिभावकलाई शुल्कको विवरण बुझाउन रफ कागजमा गरिएको हिसाब–किताबलाई नै बिलका रूपमा प्रस्तुत गरी सामाजिक सञ्जालमा प्रचार गरिएको छ । विद्यालय सञ्चालकहरूले शुल्कसम्बन्धी विवादको समाधान तथ्य, प्रमाण र संवादका आधारमा खोजिनुपर्नेमा जोड दिएका छन् । साथै, शिक्षा क्षेत्रलाई अनावश्यक विवादको विषय नबनाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।