विजयपुर । बर्जु गाउँपालिका–६ नरहचोक नजिक सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । घाइते यादवको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४७ वर्षीया रामपरी यादव घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ र उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत यादव जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रवाना भई गएका थिए । ठक्कर दिने कार र चालक मोरङ कटहरी गाउँपालिका–३ का ५० वर्षीय डा. राजेन्द्र चौधरी सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।