विजयपुर । धरान उपमहानगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयलाई शुल्क समायोजन गर्न निर्देशन दिएको छ ।
सोमबार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईद्वारा जारी पत्रमा शुल्क समायोजन गर्न निर्देश गरेको उल्लेख छ । शैक्षिक सत्र २०८२ को विद्यालय शुल्क सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी शुल्क समायोजन गर्न निर्देशन दिएको हो । उपमहानगरको पत्रअनुसार नगरमा अभिभावक भेला गरी सहमतिमा शुल्क वृद्धि गरेका विद्यालयले सोही अनुसार शुल्क लिन सक्ने उल्लेख गरिएको छ । यस्तै, अन्य विद्यालयको तुलनामा न्यून शुल्क लिइरहेका विद्यालयले शुल्क समायोजन गर्नुअघि अनिवार्य रूपमा अभिभावक भेला आयोजना गर्नुपर्ने निर्देशन दिइएको छ ।
यसअघि पुरानै शुल्क लिइरहेका विद्यालयले अभिभावक भेलाबाट शुल्क वृद्धि गर्ने निर्णय भएमा आवश्यक जानकारी गराई शुल्क समायोजन गर्न पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।
उपमहानगरले विद्यालय शुल्क निर्धारण प्रक्रिया पारदर्शी र अभिभावकको सहभागितामा आधारित हुनुपर्नेमा जोड दिएको छ ।