धरान गोर्खा भर्तीका लागि निकै प्रसिद्ध स्थान हो । अहिले हरेक सडक तथा गल्लीमा लावालस्कर लागेर युवाहरु दगुरिरहेका भेटिन्छन् । यस्तो क्रिया विगतदेखि हुँदै आएको छ । गोर्खा भर्ती सामान्य विषय होइन; यो युवाको सपना पनि हो । नेपाली युवाहरु ब्रिटिस सेनामा भर्ना हुन थालेको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । सन् १८१५ को सुगौली सन्धिपश्चात् इस्ट इन्डिया कम्पनीले नेपालीलाई भर्ती गर्न बाटो खोलेको थियो । तर नेपालको भूमिबाट भर्ती हुन थालेको विक्रम संवत् २००९ सालदेखि मात्रै हो । ब्रिटिस सरकारलाई तत्कालीन मातृकाप्रसाद कोइरालाको सरकारले धरानमा ‘रिक्रुटिङ डिपो’ खोल्न अनुमति दिएको थियो । यो अनुमतिपश्चात् नै धरान प्रसिद्ध रहेको थियो । धरान भर्तीकेन्द्रको मुख्यालय रहेको थियो । त्यसअघि भारतको कोलकत्तामा भर्तीकेन्द्रको मुख्यालय रहेको थियो । भारत स्वतन्त्र भएपश्चात् नै ब्रिटेन सरकारलाई भारत सरकारले सार्नका लागि अनुरोध गरेको थियो । सोही कारण नै नेपालमा आइपुगेको थियो । 

सन् १९५२ मा भारत स्वतन्त्र भएपछि नेपाल, भारत र ब्रिटेनबीचको त्रिदलीय सम्झौतापछि धरानलाई मुख्य आधार क्षेत्र बनाइयो । ब्रिटिस सरकारले तत्कालीन समयमा क्याम्प निर्माण गर्न र जोगबनीदेखि धरानसम्मको ३० माइल पक्की सडक बनाउन जग्गा खरिदका लागि मात्रै १० लाख पाउन्ड खर्च गरेको ऐतिहासिक तथ्यले पनि धरानको सामरिक र आर्थिक महत्वलाई उजागर गरेको छ । सुरूमा ५ वर्ष र पछि थप १० वर्ष नवीकरण गरिएको थियो । यसले पूर्वी नेपालको आर्थिक र सामाजिक रुपान्तरणमा मुख्य भूमिका खेलेको थियो । 

तर सन् १९८९ डिसेम्बर ३१ मा मुख्यालय यहाँबाट सारियो । उच्च तहको सम्झौता नवीकरणको जटिलता र पश्चिमा क्षेत्रमा रहेका उच्च पदस्थ ब्रिटिस अधिकारीहरुको प्रभावका कारण यो स्थानान्तरण भएको इतिहासबाट प्रष्टिन्छ । धरानबाट ७ र १० जीआर (गोर्खा राइफल्स) तथा तौलिहवाबाट २ र ६ जीआर भर्ती गर्ने पुरानो प्रणालीलाई समेट्दै पोखरा केन्द्र बन्यो । धरान एकपछि अर्को गर्दै यहाँको सुविधाहरु खोसिँदै लगियो । कोरोना महामारीको बहानामा यहाँबाट दोस्रो तहको छनोटलाई पनि पोखरामै केन्द्रित गरिएको छ । यसले धरानको विरासत गुमेको छ । 

आज धरानको त्यो विशाल ब्रिटिस क्याम्पको भूमिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता गौरवशाली संस्थाहरु ठडिएका छन् । जसले धरानलाई नयाँ पहिचान दिएको छ तर धरानको जग बसाल्न र यसलाई लाहुरेहरुको सहरका रुपमा विश्वभर चिनाउन गोर्खा भर्ती केन्द्रको जुन योगदान थियो, त्यसलाई भुल्न सकिँदैन । भर्ती केन्द्र पोखरा सरे पनि आजपर्यन्त धरानका सडकमा गोर्खा सैनिक बन्ने सपना बोकेर युवाहरु दौडिरहेका छन् । राज्य र स्थानीय निकायले यी दौडिरहेका युवाहरुको ऊर्जालाई केवल वैदेशिक रोजगारीको माध्यम मात्र नबनाई, देशकै विकास र खेलकुदको क्षेत्रमा कसरी उपयोग गर्ने भन्नेतर्फ पनि सोच्न जरूरी छ ।