विजयपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–८ स्थित तीनढ्वाङे पुल लामो समयदेखि निर्माण हुन नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
पुल भत्किएको दुई वर्ष बितिसक्दा पनि नयाँ पुल निर्माणको प्रक्रिया अघि नबढ्दा यात्रु दैनिक जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । स्थानीयका अनुसार गत शनिबार मात्र धरान–८ अरुणटोलबाट तीनकुनेतर्फ जाँदै गरेको मोटरसाइकल खोल्सामा खस्दा दुईजना घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार प्र.१–०२–०४८ प ०८८२ नम्बरको मोटरसाइकल खोल्सामा खसेको हो । दुर्घटनामा धरान–१ का २५ वर्षीय विमल राई घाइते भएका छन् भने पछाडि सवार धरान–१६ का २८ वर्षीय सुवास राईको दुवै खुट्टा भाँचिएको छ । ट्राफिक प्रहरीले दुर्घटनाको कारण चालकको लापरबाही र सवारी अनियन्त्रित भएको उल्लेख गरेको छ ।
तर, स्थानीयवासी ज्ञानु राई सडक निर्माणमा भएको ढिलाइ, सम्बन्धित निकायको बेवास्ता र जनप्रतिनिधिको उदासीनताका कारण दुर्घटना दोहोरिने गरेको बताउँछिन् । यो प्रतिनिधि घटनामा मात्र हो । उक्त पुल भत्किएदेखि आठभन्दा बढी दुर्घटना हुँदा एक जनाको मृत्युसमेत भइसकेको प्रहरीले जनाएको छ । राईका अनुसार निर्माणाधीन क्षेत्रमा सावधानी जनाउने कुनै सूचना, ट्राफिक सङ्केत वा चेतावनी बोर्ड राखिएको छैन । सडकबत्तीको व्यवस्थासमेत नभएकाले विशेषगरी रातिको समयमा दुर्घटनाको जोखिम झन् बढेको छ ।
स्थानीय शान्ति शर्माका अनुसार हालसम्म उक्त क्षेत्रमा आठदेखि १० वटा दुर्घटना भइसकेका छन् । उनले भनिन्, “धेरैजसो दुर्घटना रातिको समयमा भएका छन् । बिहान एउटा मात्रै दुर्घटना भएको थियो, बाँकी सबै राति भएका हुन् ।”
२०८१ साउन २३ गते तीनढ्वाङेको पुरानो पुल भत्किएको थियो । स्थानीयका अनुसार नयाँ पुल निर्माण गर्नुको सट्टा जीर्ण संरचनामाथि नै कालोपत्रे गरिएकाले पुलले भार थेग्न नसकी भत्किएको थियो । पुल भत्किनुअघि नै जोखिमबारे जनप्रतिनिधि र सडक विभागलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको स्थानीयको भनाइ छ । स्थानीय ज्ञानु राईका अनुसार तत्कालीन धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई जोखिमबारे जानकारी गराउँदा पनि आवश्यक चासो दिइएन । पुल भत्किएपछि आवतजावत सहज बनाउन ध्यानाकर्षण गराउँदा सम्बन्धित तत्कालीन नगर प्रमुख तथा हालका सांसद् साम्पाङले बाँसको पुल बनाइदिने आश्वासन दिएको उनले स्मरण गरिन् । त्यसपश्चात् साम्पाङ फर्किएनन् । उनले भनिन्, “सडक कालोपत्रे भएपछि मेरो नेतृत्वमा बनेको हो भनेर फेसबुकमा फोटो हाल्न आउनुभाको थ्यो ।”
उनका अनुसार स्थानीयका कुरा कसैले सुनुवाइ गरेका छैनन् । उनले भनिन्, “सडक विभागले पिच गरेपश्चात् मेरो नेतृत्वमा बनेको हो है भनेर फेसबुकमा फोटो हाल्न चाहिँ तत्कालीन मेयर हर्क साम्पाङ आउनुभाकोथ्यो तर पुल भत्किँदा चाहिँ आएको देखिएन । अहिले पनि दिनहुँजसो दुर्घटना भइरहेका छन्, तर कसैले चासो दिएको छैन ।” भत्किएको पुल उत्तरतर्फ स्थानीयले सामान्य आवातजावत गर्न कच्ची पुल निर्माण गरेका थिए । उक्त पुल हर्क साम्पाङको श्रमदानबाट पुल बनेको भन्ने प्रचारप्रति पनि उनले असहमति जनाइन् । “पुल हामी स्थानीयले नै बनाएका हौँ । श्रमदानबाट बनेको भन्ने प्रचार वास्तविक होइन”–उनले भनिन् ।
पुल निर्माण अलपत्र पारेको विषयमा मदन भण्डारी राजमार्ग आयोजनाका प्रमुख कर्णसिंह खत्रीसँग जिज्ञासा राख्दा पुल निर्माणको डिजाइन तयार भइसकेको र स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षको सुरुमै निर्माण ठेक्का आह्वान गर्ने तयारी गरिएको छ । “पुरानो पुल भत्किएपछि नयाँ डिजाइन तयार गरेका छौँ । अहिले स्वीकृतिको अन्तिम चरणमा छ । आगामी आर्थिक वर्षको सुरुमै ठेक्का लाग्ने अपेक्षा गरेका छौँ”–उनले भने । जोखिमपूर्ण क्षेत्रमा ट्राफिक सङ्केत र चेतावनी बोर्ड राख्ने जिम्मेवारी निर्माण कम्पनीको हुने उल्लेख गर्दै उनले हाल ठेक्का प्रक्रिया सुरु नभएकाले व्यवस्था हुन नसकेको बताए । “स्थान जोखिमपूर्ण छ । यसअघि केही सङ्केत राखिएका थिए । हामीले सो विषयलाई गम्भीर रूपमा लिएका छौँ”–उनले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अनिल माबोहाङले राजमार्ग क्षेत्रको सडक सुरक्षा तथा पूर्वाधार व्यवस्थापन सडक विभागको जिम्मेवारीभित्र पर्ने बताए । उनले भने, “हामीले सामान्य खाल्डाखुल्डी वा तत्काल व्यवस्थापन गर्न सकिने अवस्थामा मात्र समन्वय गर्छौं ।” स्थानीयका अनुसार दुर्घटना न्यूनीकरणका लागि आवश्यक सामान्य सडकबत्ती स्थानीय सरकार वा वडा कार्यालयले पनि जडान गर्नसक्ने भए पनि त्यसतर्फ पर्याप्त चासो दिइएको छैन । वडाकार्यालयमा पटक–पटक जानकारी गराउँदासमेत ‘एक–दुईवटा बत्ती वडा कार्यालयले राख्दैन’ भन्ने जवाफ पाएको उनीहरूको गुनासो छ ।
यता धरान–८ का वडाध्यक्ष धनबहादुर राईले आवश्यक सडकबत्ती जडान गरिएको बताएका छन् । उनका अनुसार दुर्घटनाको जोखिम कम गर्न पुलनजिकै परैबाट देखिने गरी मिक्स गिट्टी थुपारिएको छ, तर दुर्घटनामा परेका सवारीसाधन थुप्रोबाट अघि बढेर खोल्सामा खसेको देखिएको उनको भनाइ छ ।