विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट प्रहरीले थप १० जना विचौलियालाई पक्राउ गरेको छ ।


असार २२ मा पक्राउ परेका दुईसहित पक्राउ पर्ने विचौलियाको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २३ गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रन्जित कुमार चौधरी पक्राउ परेका हुन् ।


सप्तरी राजविराज नगरपालिका–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ नगरपालिका–३ का २९ वर्षीय सान्बिन किराती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी नगरपालिका–५ का ४० वर्षीय उमेश कुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, सुनसरी इनरुवा नगरपालिका–२ का ३१ वर्षीय रोहित मेहता तथा धरान–११ का १८ वर्षीय बिनोद भट्टराईलाई पनि पक्राउ गरिएको हो ।


यसअघि असार २२ गते झापाको दमक नगरपालिका–१ कुमालचोकका ४२ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपक रामलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई राति बीपी प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू बिरामी तथा उनका आफन्तलाई भ्रममा पारेर निजी अस्पताल तथा मेडिकल पसलमा पठाउने, उपचार र औषधिमा सहुलियत दिलाइदिने भन्दै प्रलोभन देखाउने तथा त्यसबापत अवैध कमिसन लिने कार्यमा संलग्न रहेको आरोप छ । व्यवसायीले औषधि व्यवसायी तथा कर्मचारीलाई विचौलिया भनेर आतंकित पार्ने काम गरेको भन्दै विरोध जनाएका छन् ।