दुबई । स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। त्यसको जवाफमा इरानले बहराइन र कुवेततर्फ मिसाइल प्रहार गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। यसले युद्धविरामको प्रयासलाई धक्का पुग्नुका साथै मध्यपूर्वमा पुनः द्वन्द्व चर्किने जोखिम बढाएको छ।
अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यापारिक जहाजलाई इरानले निशाना बनाएपछि जवाफी कारबाही गरिएको जनाएको छ। साथै, वासिङ्टनले इरानलाई अन्तरिम सम्झौताअन्तर्गत खुला रूपमा कच्चा तेल बिक्री गर्न दिइएको अनुमति पनि रद्द गरेको छ। इरानले भने अमेरिकी कदमको विरोध गर्दै आवश्यक सबै उपाय अपनाउने चेतावनी दिएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार आक्रमणमा इरानका हवाई रक्षा प्रणाली, राडार तथा इस्लामिक रिभोलुसनरी गार्डले प्रयोग गर्ने ६० भन्दा बढी तीव्र गतिको साना डुङ्गाहरू निशाना बनाइएका छन्। इरानले आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन।
यो घटनाक्रम इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेका बेला भएको हो। अन्त्येष्टिपछि हर्मुज जलडमरुमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा आउने र आणविक कार्यक्रमसम्बन्धी वार्ता अघि बढ्ने अपेक्षा गरिएको थियो। तर पछिल्ला आक्रमणले ती सम्भावनामाथि अनिश्चितता थपेको छ।
बेलायती समुद्री निकायका अनुसार ओमानको तट नजिक एक तेल ट्याङ्करमा आगलागी भएको छ भने अन्य दुई व्यापारिक जहाजमा सामान्य क्षति पुगेको छ। कुनै मानवीय क्षति भने भएको छैन।
विश्वको करिब पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले हर्मुज जलडमरुमध्यमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्ने चिन्ता बढेको छ। रासस