विराटनगर । श्रीमान्को मृत्यु भएपछि एकल महिलाले पाउने भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्, मनिषाकुमारी कामत । जब उनले आफ्नो नागरिकता फाँटमा पेश गरिन्, कर्मचारीले शङ्का गरे । जाँचबुझ गर्दा खुल्यो–उनको हातमा भएको नागरिकता सक्कली नभई विराटनगरकै एक फोटो स्टुडियोमा बनेको ‘नक्कली’ दस्तावेज थियो ।
यही एउटा घटनाले विराटनगरमा लामो समयदेखि चल्दै आएको नक्कली नागरिकता र सरकारी कागजात कीर्ते गर्ने गिरोहको पर्दाफास गरिदिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विराटनगर–६ का धनदेव राजवंशी र विराटनगर–११ का अशोककुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
सप्तरीको डाँडा–३ स्थायी घर भई हाल विराटनगर–१४ मा डेरा गरी बस्ने ३० वर्षीया मनिषाकुमारी कामतको पीडा बेग्लै छ । ११ वर्षअघि सुजन मण्डलसँग विवाह गरेकी उनका दुई सन्तान छन् । ५–६ वर्षअघि श्रीमान्को डुबेर मृत्यु भएपछि उनी सहाराविहीन भइन् । नागरिकता नहुँदा उनले न त श्रीमान्को तर्फबाट पाउने भत्ता पाइन्, न छोराछोरीको जन्मदर्ता नै गर्न सकिन् ।
“माइतीमा बुबाले नागरिकता बनाइदिन मान्नुभएन, आमा अर्कैतिर गइसक्नुभएको थियो” मनिषाले प्रहरीसमक्ष दिएको बयानमा भनेकी छन्, “पढेलेखेकी छैन, साह्रै दुःख भएपछि छिमेकी अशोककुमार श्रेष्ठलाई गुहारेँ । उनले ठूलोबुबा र आमाको नागरिकताको फोटोकपी मागे र १ लाख ३० हजार रुपैयाँ दिए नागरिकता बनाइदिने लोभ देखाए ।”
मनिषाले पटक–पटक गरी सो रकम बुझाएकी थिइन् । रकम बुझाएपछि विराटनगर–११ महेन्द्र चोकमा रहेको ‘न्यू डोली फोटो सर्भिसेज’ बाट उनलाई नागरिकता थमाइयो । गिरोहले उनलाई ‘३५ दिनसम्म कसैलाई नदेखाउनू’ भन्दै डराउनसमेत लगाएको थियो । तर, असार २४ गते भत्ताको लोभमा परिचयपत्र बनाउन जाँदा उनी आफै प्रहरीको फन्दामा परिन् ।
स्टुडियोमै सरकारी अड्डा १
मनिषाको बयानका आधारमा मोरङ प्रहरीले महेन्द्र चोकस्थित धनदेव राजवंशीले सञ्चालन गरेको ‘न्यू डोली फोटो सर्भिसेज’ मा छापा मा¥यो । त्यहाँको दृश्य देख्दा प्रहरी नै चकित पर्यो । एउटा फोटो स्टुडियोभित्रै सरकारी कार्यालयले जारी गर्ने सबैजसो कागजात नक्कली रूपमा तयार हुने गरेको पाइयो । प्रहरीले त्यहाँबाट १२ थान तयारी अवस्थाका नक्कली नागरिकता, १० थान खाली जन्मदर्ता, विवाह र मृत्यु दर्ताका प्रमाण–पत्रहरू बरामद गरेको छ । यति मात्र होइन, स्टुडियोबाट दुई थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ‘न्यू डोली फोटो सर्भिसेज’ लेखिएको रबर स्ट्याम्पसमेत जफत गरेको छ ।
बैङ्क स्टेटमेन्टबाट अनुसन्धान हुँदैः एसपी कटुवाल
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार यो गिरोहले सङ्गठितरूपमै कीर्र्ते काम गरिरहेको पाइएको छ । “जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन जाँदा कर्मचारीले नागरिकता शङ्कास्पद देखेपछि हामीलाई खबर गर्नुभयो” एसपी कटुवालले भने, “हाम्रो टोलीले फोटो स्टुडियोमा छापा मार्दा नागरिकता मात्र होइन, जन्मदर्ता, मृत्युदर्ता र विवाह दर्तासमेत त्यहीँ बन्ने गरेको फेला पार्यो ।”
उनका अनुसार यो गिरोहले कति जनालाई यस्ता नक्कली कागजात बेच्यो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ । “हामीले पक्राउ परेका व्यक्तिहरूको बैङ्क स्टेटमेन्टसमेत मगाएर अध्ययन गरिरहेका छौँ” एसपी कटुवालले थपे, “अहिलेसम्म धेरै रकमको कारोबार देखिएको छ । बैङ्क विवरण हेरेपछि क–कसलाई यस्ता नक्कली कागजात बिक्री गरियो र कति पैसा असुलियो भन्ने थप प्रष्ट हुनेछ ।” प्रहरीले अहिले पक्राउ परेका राजवंशी र श्रेष्ठमाथि सरकारी कागजात कीर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । अशिक्षित र सोझा महिलाहरूलाई लक्षित गरी मोटो रकम असुल्ने यो गिरोहमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।