बेइजिङ  । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको उत्तर भाग हुँदै अघि बढ्ने र त्यसपछि शनिबार राति चीनको फुजियान र झेजियाङ प्रान्तको सीमाक्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसअघि यसले साइपनसहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो ।

ताइवानमा भारी वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन् । उत्तरी तटमा माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङ लगायतका गन्तव्यका धेरै उडान शनिबारसम्म रद्द गरिएका छन् ।

चीनको झेजियाङ प्रान्तमा १७ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । करिब एक लाख ७० हजार उद्धारकर्मीलाई सम्भावित विपद्का लागि तयारी अवस्थामा राखिएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । फुजियान प्रान्तले तीव्र हावा र उग्र समुद्री अवस्थाका कारण केही जलमार्ग सेवा स्थगित गर्नुका साथै सबै माछा मार्ने डुङ्गालाई बन्दरगाह फर्किन निर्देशन दिएको छ ।

यसअघि दक्षिणी चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘मेसाक’ का कारण गुआङ्सी क्षेत्रमा आएको बाढीमा कम्तीमा ३९ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । अत्यधिक वर्षाले जलाशयहरू फुटेका थिए भने हेङ्झाउस्थित बाँधको एक भाग भत्किएपछि ठूलो क्षेत्रमा बाढी फैलिएको थियो । धेरै मानिसहरू भवनका माथिल्ला तलामा दिनौँसम्म फसेका थिए र विद्युत् सेवा समेत अवरुद्ध भएको थियो ।

यस्तै, मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीका कारण थप ११ जनाको मृत्यु भएको थियो ।

यसैबीच, पश्चिमी चीनको गान्सु प्रान्तमा मङ्गलबार आएको भूस्खलनमा २१ जना वनकर्मीको मृत्यु भएको छ । उक्त घटना टाइफुनसँग प्रत्यक्ष सम्बन्धित नभए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको जनाइएको छ ।रासस / रएपी