इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमता तीन गुणाले विस्तार गरेको छ ।
दुई वर्षअघि आगलागीबाट ठूलो क्षति बेहोरे पनि उद्योगले पुनः शून्यबाट यात्रा सुरु गर्दै अहिले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । उद्योगका सञ्चालक गृष्म सुब्बाका अनुसार उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनी लगायतका देशमा निर्यात हुँदै आएको छ । इलाम नगरपालिका–४, जस्बिरेका १८५ घरपरिवारले उत्पादन गर्ने हरियोपत्तीका साथै उद्योगको आफ्नै ६० रोपनी र भाडामा लिइएको ४०० रोपनी जमिनमा उत्पादन हुने हरियोपत्ती उद्योगमा प्रशोधन भइरहेको उनले बताए ।
“वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन हुँदै आएको थियो । यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पुर्याउने तयारी गरेका छौँ,” सञ्चालक सुब्बाले भने, “दुई वर्षअघि भएको आगलागीमा करिब आठ करोड रुपैयाँ बराबरको क्षति बेहोरेपछि फेरि शून्यबाट यात्रा सुरु गरेका हौँ।”
एक दशकअघि १४ लाख रुपैयाँको लगानीबाट सुरु भएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले करिब आठ करोड रुपैयाँको लगानीमा विस्तार भएको छ। उद्योगको सबैभन्दा ठूलो विशेषता ‘स्पेशल टी’ हो। वार्षिक सात हजार केजी उत्पादन हुने यस चियामध्ये करिब दुई हजार केजी चियाको सुइरो (टिप्स) मात्र प्रयोग गरेर तयार गरिन्छ। उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्ने यही चिया विदेशी बजारमा पुग्दा प्रतिकेजी एक लाख रुपैयाँसम्ममा बिक्री हुने उद्योगका अर्का सञ्चालक शरद सुब्बाले बताए।
“नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले बजार बनाएको छ,” शरदले भने, “हामीले १५ हजार रुपैयाँ प्रतिकेजीमा बिक्री गर्ने चिया विदेशी बजारमा एक लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।” उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको महत्त्वपूर्ण भूमिका रहेको छ। ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद सुब्बाले चियाको गुणस्तर सम्हालिरहेका छन् भने अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तर्राष्ट्रिय प्रवद्र्धनको जिम्मेवारी बाँडेका छन्।
२०४२ सालमा स्वर्गीय भैरव रिसालले सुरु गराएको चिया खेती विस्तार अभियान आज उल्लेखनीय रूपमा फैलिएको छ। रिसालले त्यसबेला स्थानीयलाई आलु खेतीसँगै चिया खेती गर्न पनि प्रेरित गरेका थिए। त्यतिबेला चिया खेतीबारे ज्ञान हासिल गरेका स्थानीय सूर्य सुब्बाले कुनै दिन आफ्नै छोराहरूले चिया उद्योग सञ्चालन गर्लान् भन्ने कल्पना गरेका थिएनन्।
तर, अहिले उनका छोराहरूले सञ्चालन गरेको जस्बिरे चिया प्रशोधन उद्योग नेपाली चिया उद्योगकै स्थापित ‘ब्रान्ड’ बनेको छ। सूर्यका चार छोरामध्ये जेठो शरद र माइलो गृष्मले १० वर्षअघि १४ लाख रुपैयाँको लगानीमा उद्योग सुरु गरेका थिए।
गृष्मले उद्योगको बजार व्यवस्थापन सम्हाल्दै आएका छन् भने शरद नेपालकै ‘बेस्ट टी मेकर’का रूपमा परिचित छन्। उनले चिया बनाउन थालेको दुई दशकभन्दा बढी भइसकेको छ र उद्योगमा उत्पादन हुने सबै प्रकारका चिया आफैँ तयार गर्छन्। साहिँला छोरा निर्विकल्पले उद्योगको प्राविधिक पक्ष सम्हाल्छन् भने कान्छा छोरा विकल्प अस्ट्रेलियामा मार्केटिङ अध्ययनरत छन्। गृष्मका छोरा कर्म पनि अध्ययन पूरा गरेर उद्योगमा आबद्ध भएका छन्। उनले उद्योग भ्रमणमा आउने विदेशी पाहुनालाई चियाबारे जानकारी गराउने जिम्मेवारी सम्हाल्दै आएका छन्।
उद्योगले सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्यूटीलगायत ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ। तीमध्ये ‘स्पेशल टी’को मात्रै वार्षिक उत्पादन करिब सात हजार केजी हुने गरेको छ। रासस