काठमाडौँ । उद्योग विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ५८ अर्ब १ करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ ।


विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट रु ९ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने रु ४८ अर्ब ४१ करोड ६६ लाख ३ हजार २५ लागतका २१९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ ।


विभागका अनुसार गत आवमा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि रु ३ अर्ब ९१ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । त्यसैगरी ऊर्जामूलक क्षेत्रअन्तर्गत चार वटा परियोजनाका लागि रु ७ अर्ब १६ करोड बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।


त्यस्तै कृषिमूलक क्षेत्रका लागि १८ वटा परियोजनामा रु २३ अर्ब १८ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रका लागि २२७ परियोजनामा रु १३ अर्ब ९९ करोड बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । त्यसैगरी सूचनाप्रविधिमूलक क्षेत्रमा ७२७ परियोजनाका लागि रु २ अर्ब ८३ करोड बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । रासस