विजयपुर । पाँचौं मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप–२०८३ साउनमा हुने भएको छ ।
प्रतियोगिता साउन १५ देखि १९ गतेसम्म सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत अन्डर–१७ विद्यालयस्तरीय खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् ।
डिपो स्कुलका प्रिन्सिपल राजकुमार राईका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीमा लुकेको बास्केटबल प्रतिभाको पहिचान तथा विकास गर्नु, धरान उपमहानगरभित्रका विद्यालयबीच आपसी सद्भाव र समन्वय अभिवृद्धि गर्नु तथा कोशी प्रदेशमा बास्केटबल खेलको विकासमा टेवा पुर्याउनु हो ।
प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी), हाई स्कोरर र राइजिङ प्लेयरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक खड्ग शम्सेर लिम्बूले जानकारी दिए । प्रतियोगिताको प्रवेश शुल्क तीन हजार रुपैयाँ तोकिएको छ । प्रतियोगितामा पहिले दर्ता हुने १६ वटा टोलीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको समन्वयमा आयोजना हुन लागेको प्रतियोगिताले विद्यालयस्तरमा बास्केटबल खेलको विकास र नयाँ प्रतिभाको उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।