विजयपुर । काठमाडौँमा सम्पन्न ‘नेक्स्ट वेभ थ्री–बाइ–थ्री च्यारिटी बास्केटबल प्रतियोगिता’ मा धरानको मेघा हिमालयन कलेज उपविजेता बनेको छ ।


प्रतियोगिताको छात्रतर्फ ललित स्निकर्स च्याम्पियन बनेको छ । धरानको मेघा हिमालयन कलेज उपविजेतामा सीमित रहँदा नेक्स्ट जेनेरेसन तेस्रो स्थानमा रह्यो ।


छात्रातर्फ बुढानीलकण्ठ च्याम्पियन बनेको छ भने गोल्डेन गेट कलेज (जीजीआईसी–ए) उपविजेतामा सीमित भएको आयोजकले जनाएको छ ।


व्यक्तिगत विधातर्फ छात्र च्याम्पियन टोली ललित स्निकर्सका बिशन खड्का प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’ घोषित भए । यस्तै, उल्लेन्सका अलभ्य चन्द ठकुरीलाई भविष्यका सम्भावनाशील खेलाडीका रूपमा ‘बेस्ट इमर्जिङ प्लेयर’ घोषित गरिएको थियो ।


प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिएको थियो ।


आयोजकका अनुसार प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम शान्ति निकुञ्ज विद्यालयका विद्यार्थीका लागि आवश्यक खेलकुद सामग्री खरिद तथा हस्तान्तरणमा प्रयोग गरिनेछ। आर्थिक रूपमा सीमित स्रोत भएका विद्यालयका विद्यार्थीलाई खेलकुदमा प्रोत्साहन गर्नुका साथै उनीहरूलाई आवश्यक खेल सामग्री उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।