विजयपुर । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको वराहक्षेत्र धाम बाढीको जोखिममा परेको छ ।

कोकाह र सप्तकोशी नदीको सङ्गमस्थलमा रहेको वराहक्षेत्र धाम कोशी नदीको कटानका कारण उच्च जोखिममा परेको हो । वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मन्दिर संरक्षणका लागि पर्याप्त पहल नहुँदा जोखिम बढ्दै गएको छ । उनले भने, “मन्दिर कोशीको कटानबाट उच्च जोखिममा छ । सुनसरीको मात्र नभई नेपालको पुरानो र महत्वपूर्ण धार्मिकस्थल राज्यको प्राथमिकतामा नपर्दा कोशी नदीको कटानको जोखिम वर्षैपिच्छे बढेर गएको छ ।”

उनका अनुसार दुई वर्षअघि कोशी नदीको नाके डाँडा (मन्दिरदेखि दक्षिण–पूर्वतर्फको डाँडा) का कारणले मन्दिरसहित आसपासको बस्तीसमेत जोखिममा परेको थियो । “दुई वर्षअघि गाउँका सबैले झोला बोकेर हिँड्नुपर्ने अवस्था आएको थियो ।”–श्रेष्ठले भने ।

मन्दिरका मुख्य पुजारी किरण भण्डारीले मन्दिर पनि जीर्ण बन्दै गएको बताए । स्थानीयवासीले पनि वराहक्षेत्र धामसँगै आसपासको बस्तीसमेत जोखिममा रहेको बताएका छन् । उनीहरूले राज्यले मन्दिरसहित बस्ती संरक्षणका लागि पहल गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार बराहक्षेत्र मन्दिर संरक्षणका लागि करिब १५ करोड रुपैयाँ आवश्यक पर्नेछ । उनले प्राकृतिक बाँध निर्माण गर्ने योजना रहे पनि राज्यबाट आवश्यक सहयोग नपाएको गुनासो गरे । मुख्य पुजारी भण्डारीका अनुसार बराहक्षेत्र नेपालको महत्वपूर्ण धार्मिक स्थलमध्ये एक हो । उनले वराहक्षेत्रको धार्मिक सम्बन्ध पिण्डेश्वर, दन्तकाली र रामधुनीलगायतका क्षेत्रसँग जोडिएको बताए ।

उनका अनुसार काठमाडौँपछि सबैभन्दा धेरै तीर्थयात्री आउने धार्मिक स्थलमध्ये बराहक्षेत्र हो । वार्षिक १२ देखि १५ लाख भक्तजन आउने गरेको अनुमान भए पनि पार्किङलगायतका समस्याका कारण तथ्याङ्क व्यवस्थित हुन नसकेको समितिले जनाएको छ ।

सडक पनि जोखिमपूर्ण

वराहक्षेत्र जाने सडकसमेत जोखिमपूर्ण रहेको पाइएको छ । सप्तकोशी पुलबाट उत्तरतर्फ वराहक्षेत्र मन्दिर जाने सडकखण्डमा पहिरो जाने क्रम जारी छ । साउन महिनामा बोलबम सुरु भएकाले कोकाह खोलाको जल ल्याएर धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा चढाउन जाने भक्तजनको चापसमेत बढ्ने गरेको छ । तर, उक्त सडकखण्डको यात्रा अहिले जोखिमपूर्ण बनेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले सप्तकोशी पुलदेखि बराहक्षेत्र मन्दिरसम्मको करिब तीन हजार आठ सय मिटर सडक निर्माण सुरु भएको लामो समय भए पनि अझै सम्पन्न नभएको बताए ।  

अध्यक्ष श्रेष्ठले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण सडक समयमा नबनेको दावी गरे । उनले भने, “वराहक्षेत्र आउने सडक सडक डिभिजन कार्यालयको खेल्ने ठाउँ बनिरहेको छ । तीनहजार आठ सय मिटर सडक नबन्दा ज्यान जोखिममा राखेर हिँड्नुपर्ने अवस्था छ ।”

उक्त सडकखण्ड तमोर करिडोरअन्तर्गत पर्छ । तमोर करिडोर परियोजनाका सूचना अधिकारी इन्जिनियर लालबहादुर विश्वकर्माले पुलमा समस्या नभएको तर पहाड सरेका कारण पुलमा समस्या आएको बताए । उनले भने, “हामीले डिजाइनअनुसार निर्माण गरेका हुन्छौँ । पुल बनायौँ, तर बाउनी खोलातर्फको पहाड नै सरेपछि समस्या आएको हो । पुलमा समस्या होइन ।” उनका अनुसार पहिले १७ मिटर टाढा रहेको पहाड अहिले पुल छेउमा आइपुगेको छ । हिउँद लागेपछि सडक निर्माण सम्पन्न हुने उनको भनाई छ । अहिले पनि सडक खुलाउने काम भइरहेको निरन्तर भइरहेको छ ।