विराटनगर । दशकौँदेखि कोइला र कच्चा पदार्थको ढुवानीमा सास्ती खेपिरहेका पूर्वी नेपालका उद्योगीहरूका लागि सोमबारको दिन एउटा ‘ऐतिहासिक फड्को’ सावित भएको छ ।

भारतको कोलकाता बन्दरगाहबाट सिधै हिँडेको ४० वटा कन्टेनर बोकेको कार्गो रेल विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आईसीपी) को कस्टम यार्डमा आइपुगेपछि यो क्षेत्रको वैदेशिक व्यापारमा नयाँ युगको सूत्रपात भएको हो । मङ्गलबार ती कन्टेनरहरू अनलोड गरी उद्योगसम्म पु¥याइएको छ । यो सँगै अहिलेसम्म वीरगञ्ज नाकामा मात्रै सीमित रहेको रेल कार्गो सुविधा अब विराटनगरसम्म विस्तार भएको छ ।

विराटनगरको औद्योगिक साख फर्काउने कडीका रूपमा हेरिएको यस रेल सेवाले ढुवानी लागत मात्र घटाउने छैन, सडक मार्गको झन्झट र जोखिमलाई समेत विस्थापित गर्नेछ । कोलकाताबाट प्रस्थान गरेको पहिलो कार्गो रेलले स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याएको हो । मर्सक लाइनका ती कन्टेनरमा अत्याधुनिक ‘इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम’ (ईसीटीएस) जडान गरिएको छ, जसले सामानको सुरक्षा र लोकेसनबारे रियल–टाइम जानकारी दिन्छ ।

औद्योगिक विकासमा नयाँ आयामः राजेन्द्र राउत 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले यो उपलब्धिलाई लामो समयको सङ्घर्षको प्रतिफल भएको बताए । उनका अनुसार विराटनगर एकीकृत जाँच चौकीसम्म रेल सेवा ल्याउनु पर्छ भन्ने माग उद्योगीहरूको धेरै पुरानो थियो । “पहिले जोगबनी नाका हुँदै सडक मार्गबाट सामान ल्याउँदा निकै समय र पैसा खर्च हुन्थ्यो” राउतले भने, “ट्रकबाट सामान आउँदा जाम र भन्सार प्रक्रियाका कारण ५–६ घण्टाको बाटो काट्न २–३ दिन लाग्ने गथ्र्यो । अब कोलकाताबाट २४ घण्टाभित्रै सुरक्षित रूपमा सामान विराटनगर आइपुग्छ । यसले उत्पादन लागत घटाउन मात्र होइन, हाम्रो बजारको कार्यक्षमता बढाउन पनि ठूलो मद्दत पुग्छ ।”

राउतले रेल सेवाले सुरक्षाको प्रत्याभूति दिने र सडक दुर्घटनाको जोखिम शून्यमा झार्ने बताए । यद्यपि, उनले यसको नियमिततामा भने प्रश्न उठाएका छन् । “सेवा सुरु हुनुमात्र ठूलो कुरा होइन, यसलाई नियमित बनाउनु अहिलेको मुख्य चुनौती हो” उनी भन्छन्, “यसका लागि सरकारले वर्षायाममा सामान जोगाउन ‘ओपन यार्ड’ को व्यवस्थापन र रेलको अन्तिम गन्तव्य कटहरीसम्मको निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्छ ।” उनले अब ‘सीआईएफ कोलकाता’ को सट्टा ‘सीआईएफ विराटनगर’ सम्मको व्यवस्था हुनुपर्ने र ठूला सिपिङ लाइनका कार्यालयहरू विराटनगरमै खुल्नुपर्ने मागसमेत राखेका छन् । 

वीरगञ्ज र भैरहवासँग प्रतिस्पर्धा गर्ने बल मिल्योः शारडा

नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडा कार्गो रेल सेवाले विराटनगरको आयात–निर्यातमा एउटा ठूलो क्रान्ति ल्याउने विश्वास व्यक्त गरे । उनले अब विराटनगरका उद्योगहरू अन्य नाकाका उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताए । “उद्योगका लागि १–२ प्रतिशतको नाफा पनि ठूलो हुन्छ, यहाँ त ढुवानीमा ३० प्रतिशतसम्म लागत घट्ने देखिएको छ” शारडा उत्साहका साथ भन्छन्, “यसअघि ढुवानी महँगो हुँदा हामी वीरगञ्ज र भैरहवाका उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिरहेका थिएनौँ । अब हाम्रा उत्पादनहरू देशैभरि प्रतिस्पर्धी मूल्यमा पुग्न सक्छन् ।”

उनले रेल सेवाले सामानको गुणस्तर कायम राख्न पनि सहयोग पुग्ने बताए । “साल्ट ट्रेडिङले ल्याउने चिनी होस् वा अन्य कच्चा पदार्थ, ट्रकमा ल्याउँदा धुलो र ओसको डर हुन्थ्यो” उनले भने, “अब सिधै रेलबाट सुरक्षित आउने भएपछि गुणस्तरमा सम्झौता हुँदैन ।” निर्यातको क्षेत्रमा पनि गार्मेन्ट, चाउचाउ र बिस्कुट जस्ता नेपाली उत्पादनलाई तेस्रो मुलुक पठाउन यो सेवा ‘गेम चेन्जर’ हुने उनको दाबी छ ।

औद्योगिक करिडोरका लागि माइलस्टोन: नन्दकिशोर राठी

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले कार्गो रेल सेवालाई मोरङ–सुनसरी औद्योगिक करिडोरका लागि एउटा ‘माइलस्टोन’ को रूपमा व्याख्या गरेका छन् । उनका अनुसार सडक मार्गको तुलनामा रेल ढुवानी ३० देखि ४० प्रतिशत सस्तो हुने भएकाले यसले नेपालको वैदेशिक व्यापार घाटा कम गर्नसमेत मद्दत गर्छ ।

तर, राठीले केही प्राविधिक समस्याहरूमा ध्यान दिन सरकारलाई सचेत गराएका छन् । “अहिलेको मुख्य समस्या अनलोडिङ र ह्यान्डलिङ चार्ज हो । इन्टरमोडलले निर्धारण गरेको रेट केही महँगो छ, यसलाई परिमार्जन गरी वीरगञ्जको दररेटसँग प्रतिस्पर्धी बनाउनुपर्छ” राठीको सुझाव छ । उनले अहिले नै ४ देखि ५ वटा ‘¥याक’ बुकिङ भइसकेको जानकारी दिँदै उद्योगीहरू यो सेवाका लागि पूर्णरूपमा तयार रहेको बताए । 

व्यापारमा नयाँ युग: भन्सार प्रमुख उमेश श्रेष्ठ 

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले कार्गो रेल सेवाको सुरुवातसँगै नेपाल–भारत व्यापारमा नयाँ युग सुरु भएको बताएका छन् । उनका अनुसार यो उपलब्धि भारतीय भन्सार, भारतीय रेलवे, भारतीय महावाणिज्य दूतावास र नेपाली निजी क्षेत्रको संयुक्त पहलको परिणाम हो ।

“यसले लजिस्टिक लागतमा करिब ४० प्रतिशतसम्म कमी ल्याउने हाम्रो अनुमान छ” श्रेष्ठले भने, “अब व्यवसायीहरूले ‘सीआईएफ विराटनगर’ को अवधारणामा सामान ल्याउन सक्नेछन् । यसको अर्थ अब सामान सिधै विराटनगरसम्मको ढुवानी र बीमासहितको मूल्यमा आउनेछ, जसले बीचका धेरै झन्झटहरू हटाउँछ ।” उनले भविष्यमा विशाखापट्टनम पोर्टबाट पनि सिधै विराटनगर सामान ल्याउन सकिने सम्भावनाबारे अध्ययन भइरहेको जानकारी दिए । 

निरन्तरताका लागि लायजन अफिस अनिवार्य: शर्मा 

विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकी शर्माले रेल सेवालाई दिगो बनाउन सरोकारवालाहरूमा सचेतना आवश्यक रहेको बताए । उनका  अनुसार विगतमा पनि यस्तै प्रयासहरू भएका थिए तर ती सफल हुन सकेनन् । “करिब ३ वर्षअघि पनि रेल आएको थियो तर निरन्तरता पाएन । त्यसैले अहिलेको मुख्य चुनौती यसलाई फेरि बन्द हुन नदिनु हो” शर्मा भन्छन्, “बजारमा एउटा ‘लायजन अफिस’ वा जनसम्पर्क कार्यालयको खाँचो छ, जसले व्यवसायीहरूसँग समन्वय गरोस् ।” उनले ट्रकमा हुने चोरी र लिकेज जस्ता समस्याहरू रेल सेवाका कारण अन्त्य भएकोमा खुसी व्यक्त गरे । 

आर्थिक प्रभाव र भविष्यको बाटो

विराटनगरमा कार्गो रेलको नियमित सञ्चालनले केवल ढुवानी लागत मात्र घटाउने छैन, यसले यस क्षेत्रमा नयाँ उद्योगहरू स्थापना गर्न वैदेशिक लगानीकर्ताहरूलाई पनि आकर्षित गर्नेछ । ढुवानी लागत ३० देखि ४० प्रतिशत घट्नु भनेको नेपाली उत्पादनको बजार मूल्य घट्नु र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढ्नु भएको यहाँका व्यवसायीहरू बताउँछन् । विराटनगरमा कार्गो रेलको आगमनले पूर्वी नेपालको औद्योगिक भविष्यमा उत्साहको नयाँ सञ्चार गरेको छ । “यदि सरकार र निजी क्षेत्रले समन्वय गरेर यसका प्राविधिक अवरोधहरू हटाउने र सेवालाई नियमित गर्ने हो भने विराटनगर फेरि नेपालको मुख्य औद्योगिक र व्यापारिक केन्द्रका रूपमा आफ्नो पुरानो साख फर्काउन सफल हुने निश्चित छ । “यो एउटा ठूलो ‘ब्रेकथ्रु’ हो, अब यसलाई पछाडि फर्केर हेर्नु पर्दैन । काग्रो रेल सेवालाई निरन्तरता दिएर अगाडि बढ्नु पर्दछ”–प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भने ।