विजयपुर । औषधि व्यवस्था विभाग विराटनगरले जिल्ला प्रशासन कार्यालय सुनसरीसँगको संयुक्त अनुगमनका क्रममा धरानका १६ वटा फार्मेसी सिलबन्दी गरेको छ ।

सोमबार धरानका १८ वटा फार्मेसीको अनुगमन गरिएको थियो । तीमध्ये अधिकांश फार्मेसी कानून तथा मापदण्ड विपरीत सञ्चालन भएको पाइएको हो । जसमध्ये १६ वटा फार्मेसी सिलबन्दी गरिएको औषधि व्यवस्था विभागका फार्मेसी सुपरभाइजर रामकुमार मगरातीले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा धेरैजसो फार्मेसी बन्द अवस्थामा थिए भने सञ्चालकहरू समेत उपस्थित थिएनन् ।

सिलबन्दी गरिएका फार्मेसीका सञ्चालकलाई विभागमा उपस्थित भई आवश्यक कागजात पेश गर्न निर्देशन दिइएको छ । अनुसन्धानबाट कानून उल्लङ्घन पुष्टि भए प्रचलित ऐनअनुसार कारबाही गरिने उनले बताए ।

सिलबन्दी गरिएका फार्मेसीहरूमा धरान–१८ को सुप्रिमा फार्मेसी, मुना मेडिकल हल, सुनकोशी फार्मेसी र शम्भुनाथ मेडिकल हल, धरान–१७ का महाकाली फार्मेसी र जेबीआर मेडिकल हल रहेका छन् । यी फार्मेसी अनुगमनका क्रममा बन्द अवस्थामा भेटिएका थिए भने सञ्चालकहरू उपस्थित थिएनन् ।

यस्तै धरान–१८ स्थित एक नाम नखुलेको फार्मेसी रहेको छ । धरान–१८ को शाहारा मेडिकल हल, धरान–१७ को गहिब फार्मेसी र बुढाथोकी फार्मेसी, रुपनी मेडिकल हल, माँ रुपनी मेडिकल हल रहेका छन् ।

यस्तै, सनलाइट फार्मेसी, माँही मेडिकल हल, सिम्रन हेल्थकेयर फार्मेसी र शक्ति मेडिकल हल रहेका छन् ।

अनुगमनका क्रममा केही फार्मेसीमा औषधि तोकिएको तापक्रममा भण्डारण नगरेको, दर्ता तथा नवीकरणसम्बन्धी कागजात अद्यावधिक नराखेको, सञ्चालकको अनुपस्थितिमा फार्मेसी सञ्चालन गरेको तथा निरीक्षणका बेला पसल बन्द राखेको जस्ता कमजोरी भेटिएको विभागले जनाएको छ ।

विभागले सिलबन्दी गरिएका फार्मेसीका सञ्चालकलाई यथाशीघ्र विभागमा उपस्थित भई आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ । अनुसन्धानबाट कानून उल्लङ्घन पुष्टि भए प्रचलित ऐनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।