विजयपुर । तत्कालीन नगर प्रमुख (हाल प्रतिनिधिसभा सदस्य) हर्कराज राईले सुम्निमा–पारुहाङ प्रतिमा निर्माणको घोषणा गरेसँगै सुरु भएको स्वार्थको खेल ‘जग्गा खरिद’ सम्म देखिएको छ ।
सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि उपयुक्त जग्गा खोजबिन गर्न सुरुमा धरान उपमहानगरको कार्यपालिका बैठकबाट समिति गठन भयो । १५ असोज २०८० मा उपमहानगरको कार्यपालिका बैठकले नगर प्रमुखको हर्कराज राईको संयोजकत्वमा ४ जना वडाध्यक्ष र दुई कार्यपालिका सदस्य रहेको ‘सुम्निमा पारुहाङ’ को प्रतिमा निर्माण सम्भाव्यता अध्ययन समिति गठन ग¥यो । केही समयलगत्तै समितिलाई बाइपास गरी सुम्निमा–पारुहाङ प्रतिष्ठान नेपाल गठन गरियो ।
कार्यपालिकाबाटै निर्णय गरे पनि काम भने प्रतिष्ठानबाट थालिएको थियो । कार्यपालिका सदस्यसमेत रहेका अध्ययन समितिका सदस्य विकास भाटी भन्छन्, “५–६ पटक बैठक बसियो । त्यसपश्चात् समिति आफै निष्क्रिय बन्यो । बैठकमा पनि बोलाएनन् ।” यसबीचमा प्रतिष्ठान गठन भइसकेको थियो । जसले गर्दा हरेक गतिविधि प्रतिष्ठानमार्फत् गरिन थालेको उनको भनाइ छ । उनी थप्छन्, “प्रतिष्ठान गठन गरेर उतैबाट गतिविधि गर्न थाले । न अध्ययन गरियो, न प्रतिवेदन नै छ ।” उनका अनुसार समितिको बैठकमा अनौपचारिक रूपमा धरान उपमहानगरको दुई बिघा जग्गा धरान–२० स्थित शूलीकोटमा भएको र उक्त स्थानमा स्थापना गर्दा सहज हुने कुरा उठ्ने गरेको थियो । तर सोही समयमा जग्गा कारोबारीहरू सक्रिय भए ।
त्यसपश्चात् १३ कात्तिक २०८० मा चिण्डेडाँडामा निर्माण गरिने भनिएको सुम्निमा र पारुहाङको प्रतिमाको लागि आवश्यक जग्गा व्यवस्थापन गर्न एक मूल्याङ्कन समिति गठन भयो । धरान–२० का वडाध्यक्ष पदम लिम्बूको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरियो । समितिमा चार किरातजन्य सङ्घसंस्थाका प्रतिनिधि पनि सदस्य थिए । समितिमा धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र कार्यपालिका सदस्य सावित्रा परियार सदस्य थिए । कार्यपालिका सदस्य परियार भन्छिन्, “जग्गाको नापजाँच गर्ने काम भयो । त्यसपश्चात् अव्यवस्थित रूपमा रकम सङ्कलन गर्न थालियो । बैठकमा जान छाडेँ ।”
१५ फागुन २०८० तिर सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल नामक संस्था गरी २३ फागुनमा २०८० मा सुम्निमा–पारुहाङ प्रतिष्ठानका अध्यक्ष तथा तत्कालीन नगर प्रमुख हर्कराज राईलाई प्रमाण–पत्र हस्तान्तरण गरियो । उक्त समयमै सुम्निमा पारुहाङको नाममा स्वार्थ समूहले जग्गा कारोबारदेखि अन्य गतिविधि गर्न थालेका थिए । जग्गा कारोबारमा त हर्कराज राईका विश्वासपात्र दत्त लिम्बू नै पनि सक्रिय थिए । लिम्बूलगायत हर्कराज राईका नजिकका व्यक्तिहरू नै सुम्निमा पारुहाङको प्रतिमा निर्माणस्थल आसपास जग्गा कारोबारमा लागेका थिए । उक्त कुरा लिम्बूको फेसबुकले नै पुष्टि गरेको थियो । हाल सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालको कोषाध्यक्ष बनेका दत्त लिम्बूले फागुन २०८० तिर आफ्नै फेसबुकमार्फत् जग्गा प्लटिङको विज्ञापन गरे ।
उनले आफ्नो फेसबुक पेज दत्त लिम्बूमा ‘चिण्डेडाँडामा सुम्निमा–पारुहाङ प्रतिमादेखि ५ सय मिटरनजिकै सत्य रियल स्टेट कम्पनी प्रा.लि.को प्लट बिक्रीमा, अन सेल प्लट अन सेल, कन्ट्याक्ट एज सुन एज पोसिबल’ लेखेर आफ्नै सम्पर्क नम्बर राखे । अर्को वाट्सएप सम्पर्क पनि नम्बर राखे । त्यो नम्बर भने नगर प्रमुख राईका समर्थक सत्य गुरुङको रहेको पुष्टि भएको थियो । ब्लाष्टको जिज्ञासामा दत्तले आफ्नो जग्गा नभएको र दुई भान्जाहरूको जग्गा भएको बताएका थिए । सुरुदेखि सुम्निमा–पारुहाङ प्रतिमा निर्माणको घोषणादेखि सुरु भएको स्वार्थ जग्गा खरिदसम्म देखिएको छ ।
सुम्निमा पारुहाङको प्रतिमा निर्माणस्थलको जग्गा खरिदमा हर्कराज राईको विश्वासपात्र मीनादेवी सिङ्गकको स्वार्थ देखिएको छ । भूमि प्रशासन कार्यालय धरान पानबारीको अभिलेखमा सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालले खरिद गरेको घोपा ८ (घ) १३४ कित्ता नम्बरको जग्गा मीनाले बिक्री गरेकी छन् । मीनाले उक्त जग्गा २०८२ मङ्सिर १५ मा खरिद गरेर २०८२ माघ २१ गते बिक्री गरेको कार्यालयको अभिलेखमा उल्लेख छ । आफै जग्गा खरिद गरेर बिक्रीकर्ता बनेकी छन् । कारोबार ५ लाख रुपैयाँ देखाएका छन् । किन ५ लाखमा नै कारोबार भए पनि दुई महिनामा राजस्व बढाएर जग्गा लेनदेन गरियो त ? भन्ने विषयमा जग्गा कारोबार सम्बन्धी जानकार एक व्यक्तिले कम मूल्यमा कारोबार गरी अभिलेखमा मात्रै ५ लाख देखाएको हुनसक्ने बताए । उक्त स्थानको जग्गाको सरकारी मूल्य २ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
उनीहरूले दोब्बर मूल्य देखाएका छन् । मीना तिनै व्यक्ति हुन्, जो हर्कराज राई नगर प्रमुख भएको बेलामा सञ्चालित श्रम अभियानको सचिवालयमा बसेर काम गरेकी थिइन् । दुई महिनाबीचमा खरिद गरेर बिक्री गरेकी मीनाले सुम्निमा पारुहाङको डोनेसनमा एक रुपैयाँ हिनामिना नभएको दाबी गर्दै आएकी छन् ।