विजयपुर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

 प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बराहक्षेत्र नगरपालिका–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा गाँजा ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गरेको थियो।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको को.१–०२–००२ च. ४८५१ नम्बरको कार र को.११ प.५६०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल ४१८ किलोग्राम रहेको छ।

प्रहरीले कार चालक धरान १३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिबनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई बरामद गाँजा तथा सवारी साधनसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।