विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागू औषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ब्राउन सुगरसहित ११ जना र प्रतिबन्धित औषधिसहित एक जना रहेका छन् ।
सुनसरीको इटहरीमा प्रहरीले सबैभन्दा बढी परिमाणको ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । इटहरी–१७ लविपुरमा लागू औषध बिक्री भइरहेको सूचनाका आधारमा इटहरी–२ की २९ वर्षीया भावना गुरुङलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि झुम्कास्थित साई हस्पिटल लगिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा गुप्ताङ्गभित्र लुकाइछिपाइ राखेको अवस्थामा १० ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी–८ गैसारमा लागू औषध बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले इटहरी–३ का २९ वर्षीय सरोज काफ्ले र भारत घर भई इटहरी–८ मा डेरा गरी बस्ने ३२ वर्षीय अवदेश सिंहलाई पक्राउ गरेको छ । उनीहरूको कोठा खानतलासी गर्दा १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
धरान–१९ हरियाली चोकबाट पनि दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका धरान–१० का १७ वर्षीय ईमन तेम्बे र धरान–११ का ३३ वर्षीय अमृत लिम्बुलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ६६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, इनरुवा नगरपालिका–४ बसचोकमा प्रहरीले इटहरी–१७ का १९ वर्षीय रामबाबु चौधरी र १८ वर्षीय आकेश कुमारलाई स्कुटरसहित पक्राउ गरेको छ । को १२ प ७९६४ नम्बरको स्कुटरमा सवार उनीहरूको साथबाट २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
सोही स्थानबाट पैदल हिँडिरहेका इटहरी–१७ का २२ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय समिर कुमार र मोरङ उर्लाबारी–६ घर भई हाल इटहरी–६ मा डेरा गरी बस्ने ३१ वर्षीय सुरज कार्कीलाई पनि पक्राउ गरिएको छ । उनीहरूको साथबाट २ ग्राम ८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको भद्रपुर नगरपालिका–५ बाट भद्रपुर–३ का २४ वर्षीय अभिषेक तामाङलाई ३ ग्राम ३९० मिलिग्राम तथा दमक नगरपालिका–२ बाट २९ वर्षीय सन्तोष थापालाई ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धरान–१४ का ३५ वर्षीय शंकर तामाङलाई पनि ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनकुटाको शहीदभूमि गाउँपालिका–२ कामीटोलबाट ३१ वर्षीय रविन्द्र राईलाई प्रतिबन्धित औषधि ३०० क्याप्सुलसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।