धरान / धरानमा डेंगु रोगले महामारीको रुप लिए पछि धरान उपमहानगरपालिकाले वडा नं १५ र ८ लाई विहीबार डेंगु संकटग्रस्त वडा घोषणा गरेको छ । ती वडाहरुमा अत्यधिक मात्रामा डेंगु ज्वरोका विरामी भेटिएको र नियन्त्रणबाहिर गएकोले संकटग्रस्त वडा घोषणा गरिएको कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलले धरानमा डेंगुको महामारी रुप लिएको बताउद प्रदेश सांसदहरु र धरानका जनप्रतिनिधिहरुकै अघि धरानलाई हेल्थ इर्मेजेन्सी(स्वास्थ्य संकटग्रस्त) घोषणा गर्नु पर्ने सुझाव दिएका थिए । संकटको घोषणाले आम नागरिकमा सजगता अपनाउने र राज्यले केही दबाब दिएर भएपनि घरमा जम्मा गरेको पानी फाल्न र लार्भा नष्ट गर्न सक्ने उनको भनाई थियो । उनकै सल्लाहामा संकटग्रस्थ क्षेत्र घोषणा गरिएको हो ।
विहीबार नै धरानमा फैलिएको डेंगु रोगको प्रकोपबारे प्रदेश नं. १ को सामाजिक विकास समितिले पनि चासो देखाएको छ ।
समितिले धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर सरोकारवालाहरुसँग छलफल गरेको थियो । छलफलमा धरान उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीले धरानमा डेंगुको महामारी र उपमहानगरले गरिरहेको कामबारे जानकारी गराएकी थिइन । प्रतिष्ठानद्वारा गठित ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले टिमले हालसम्म गरेको कामबारे अवगत गराए । समितिकी सभापति सरिता थापाको नेतृत्वमा प्रदेश सभासदस्यहरु केदार काकी चन्द्रप्रसाद श्रेष्ठ, कृष्णकुमारी राई, विनादेवी राई, कला घले, निरन राई, सावित्रा रेग्मी, झलक दर्लामी, उमिता बराईली लगायतको टोली सहभागी थियो ।
धरान उपमाहनगरले घर घरमा डेंगुको लार्भा, अण्डा नष्ट गर्न मास परिचालन गरेको छ । विभिन्न विद्यालयहरुले समेत डेंगुबाट बच्न जनचेतनामुलक ¥यालीहरुको आयोजना गरेका छन् । हालसम्म १ सय ८८ जनामा संक्रमण देखिएको ¥यापिड रेस्पेन्स टिमका सहसंयोजक तथा धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले जानकारी दिए ।