भद्रपुर । झापाको काँकडभिट्टा नाकामा दुईदिन अघि सशस्त्र प्रहरी र महिला व्यापारीबीच भारतबाट सामान ल्याइरहेको विषयमा घम्साघम्सी भएपछि त्यसको असर भद्रपुर नाकामा समेत देखिएको छ । 

वर्षौदेखि भद्रपुर मेची किनारका महिला भारतको गलगलिया हुदै मेचीपुलबाट थोरै परिमाणमा सामान ल्याइरहेका छन् । उनीहरुले भन्सार छलेर दायाँ–वायाँबाट लत्ता कपडा, किराना लगायतका सामग्री भित्र्याउदै आइरहेका छन् । अर्को तर्फ सोही नाकाबाट भद्रपुर र चन्द्रगढीमा लाग्ने साप्ताहिक बजारलाइ मध्यनजर गरी भारतीय व्यापारीले समेत ती बजारमा ल्याएर तरकारी लगायतका सामान विक्री गर्दै आइरहेका छन् । 

केही महिना यताबाट सशस्त्र प्रहरी कोशी प्रदेशका डिआइजी अञ्जनी कुमार पोखरेलले प्रदेशभरीका सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न मातहतका कार्यालयलाइ निर्देशन दिएपछि यसको प्रभाव झापाका नाकाहरुमा पनि परेको छ ।

केही महिना अघि सशस्त्र प्रहरी वल प्रस्तावित भद्रपुर गुल्मका डिएसपी राजकुमार कँडेल आएपछि उनले नाकामा थप कडाइ गर्न निर्देशन दिए । उनले दिएको निर्देशनपछि हाल भद्रपुर नाकामा भन्सार छलेर सामान नेपाल भित्र्याउनेको दिनहुँ मेची पुल पुर्व भारत तर्फ लामो लाइन लाग्दै आइरहेको छ । 

उनीहरु दिनभर सडकमा नै वस्ने तर, भन्सार नपस्ने परिपाटीले हैरानी बनाएको सशस्त्र प्रहरी भद्रपुरका डिएसपी कँडेल बताउँछन् । राजस्व चुहावट रोक्न रात दिन खटिरहेपनि बर्षौदेखि चल्दै आएको वानीका कारण साना व्यापारीलाइ भन्सार छिराउन बानी पार्न समस्या हुदै आएको उनको भनाइ छ ।

कुनैपनि स्वार्थ नराखी राज्यले दिएको निर्देशन अनुरुप काम गर्दै आइरहेको उनको भनाई छ । प्रहरी या भन्सारमा सामान बुझाउनु पर्ने स्थिति आएपछि व्यापारीले पुलबाट सामान  फालेर नष्ट गर्ने गरेको उनले बताए । सवै तहका नागरिकको सहयोग विना प्रहरीले मात्र नियन्त्रण गर्न मुश्किल देखिएको उनले जनाए । 

यता पुलमा भेटिएका व्यापारीको भनाई अनुसार जीवीकोपार्जनका लागि बर्षौ देखि थोरै परिमाणमा सामान ल्याउदै आइरहेको बताए । दिनमा दुई पटक सामान ल्याउन दिइरहेकोमा हाल दिनमा एक पटक पनि जान नदिएको उनीहरुको भनाई छ ।