विजयपुर । सुनसरीमा ६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीका छुट्टाछुट्टै स्थानमा ब्राउन सुगर, नगद र डिजिटल तराजुसहित पाँच जनालाई पक्राउ गरिएको हो । असार ११ गते इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले इटहरी–१७ पकली तथा रामधुनी नगरपालिका–६ सौरना क्षेत्रमा गरेको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार इटहरी–१७ पकलीमा चेकजाँच गर्ने क्रममा ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ का युवराज बस्नेत र मोरङको सुन्दरहरैँचा नगरपालिका–८ का २४ वर्षीय लालबहादुर थापालाई पक्राउ गरिएको हो । युवराज बस्नेतको साथबाट ०.६८ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरूले उक्त लागूऔषध इटहरी–१७ निवासी सौकात मियाँबाट खरिद गरेको बताएका थिए । त्यसपछि प्रहरीले सौकात मियाँलाई पनि नियन्त्रणमा लिएको छ । इटहरी–१७ स्थित स्टार लाइट खाजा घर होटलमा गरिएको चेकजाँचका क्रममा होटल सञ्चालक साहीदुल मियाँको साथबाट ०.९६ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, रामधुनी नगरपालिका–६ सौरनाबाट ४८ वर्षीय विजय राजधामीको साथबाट ६२.९३ ग्राम ब्राउन सुगर र ६३ हजार ८ सय २० रुपैयाँ तथा दुई थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै व्यक्तिलाई बरामद लागूऔषध, नगद तथा अन्य सामग्रीसहित इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ र लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।