बनियानी । झापामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ ।


किसानले उचित मूल्य नपाएपछि खेती गर्न छोडेकाले जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा १६ हजार ७ सय ५८ हेक्टर क्षेत्रफलमा ८९ हजार ६ सय ५५ दशमलव तीन मेट्रिकटन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । यो परिमाण गत वर्षको तुलनामा सात हजार ४ सय ७८ दशमलव सात मेट्रिकटन कम हो ।


आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९ सय ५० हेक्टरमा एक लाख छ हजार १ सय ३४ मेट्रिकटन चैते धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ८ सय ५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिकटन धान उत्पादन भएको थियो ।


जिल्लामा धान खेतीको क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढिरहेको छ । आव २०८०/८१ मा चैते धानको उत्पादकत्व पाँच दशमलव २४ थियो । आव २०८१/८२ मा पाँच दशमलव ३२ पुगेको भने चालु आवमा पाँच दशमलव ३५ पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


विकल्प खोज्दै किसान


मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने सरकारी योजनामा मुख्य कडी मानिएको चैते धानको उचित मूल्य नपाएपछि किसानले विकल्प खोज्न थालेका छन् । उत्पादकत्वमा केही सुधार देखिए पनि उचित बजार मूल्य र सरकारी खरिद नीतिको अभावका कारण कृषकहरू चैते धानको विकल्प खोज्न थालेका हुन् ।


उचित मूल्य नपाएपछि अधिकांश किसान धान खेती छाडेर मकै तथा अन्य बालीतर्फ मोडिएका छन् । आव २०८२/८३ मा जिल्लामा ४६ हजार १ सय २५ हेक्टरमा मकै खेती गरिएको थियो । जसमा दुई लाख ८३ हजार १ सय ८७ दशमलव ८८ मेट्रिकटन उत्पादन भएको थियो ।


गत आव २०८१/८२ मा ४४ हजार ६ सय २० हेक्टरमा तीन लाख ५१ हजार ४ सय २६ दशमलव ४५ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस पटक वर्षाका कारण मकै उत्पादनमा कमी आए पनि उत्पादकत्व सात दशमलव ८८ बाट वृद्धि भई सात दशमलव ८९ पुगेको केन्द्रका प्रमुख विष्टले बताए ।


धान सुपरजोन कचनकवलकी किसान पुष्पा रिमालले चैते धानको मूल्य नपाउँदा कृषक मकै खेतीतर्फ आकर्षित भएका बताइन् । “धानको मूल्य नै नपाएपछि मकै खेती गरेँ”, उनले भनिन्, “मकैको मूल्य राम्रो भए पनि यस वर्ष वर्षाले नोक्सान गर्‍यो ।”


लागत नउठ्ने मूल्य


किसानले ६ सय देखि ६ सय ५० प्रति मन (४० किलो) मा चैते धान बिक्री गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए । “यो मूल्यले किसानको लागत नै उठ्दैन”, उनले भने, “अनि किसानले कसरी खेती गर्ने, हामीले उहाँहरूलाई खेती गर्न दबाब पनि दिन सक्दैनौँ ।”


सरकारले चालु आर्थिक वर्षका लागि चैते धानको मूल्य प्रति क्विन्टल दुई हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकेको थियो । जुन गत वर्षको तुलनामा ५५ रुपैयाँ आठ पैसाले बढी हो । गत साउनमा सरकारले चालु आवका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । सरकारले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ४ सय ६३ र मध्यम धानको तीन हजार ६ सय २८ निर्धारण गरेको थियो । चैते धानको न्यूनतम समर्थन मूल्यअनुसार प्रति मन धानको मूल्य एक हजार १ सय ४२ दशमलव चार हुन्छ । किसानले ६ सय देखि ६ सय ५० पाइरहेका छन् ।


सरकारी नीति कागजमै सीमित


सरकारले चैते धानको क्षेत्रफल विस्तार गर्ने नीति लिए पनि व्यावहारिक रूपमा सरकारी संयन्त्रबाट धान खरिद गर्ने वा समर्थन मूल्य कार्यान्वयन गराउने कुनै स्पष्ट र प्रभावकारी व्यवस्था नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताए । “बजार पूर्ण रूपमा निजी व्यवसायीहरूको नियन्त्रणमा रहँदा किसानहरू मारमा परेका छन्”, उनले भने, “किसानलाई उत्पादनमा प्रोत्साहन गरेर मात्र हुँदैन, बजार सुनिश्चित हुनुपर्छ ।”


“वर्षे धानको क्षेत्रफल बढाउने ठाउँ हाम्रो देशमा अब बाँकी छैन, त्यसैले चामलमा आत्मनिर्भर हुनका लागि चैते धानकै क्षेत्रफल र उत्पादन बढाउनुको विकल्प छैन”, उनले भने, “यदि सरकारले न्यूनतम समर्थन मूल्यमा किसानको धान आफैँ खरिद गरिदिने वा बजार मूल्य सुरक्षित गर्ने ग्यारेन्टी गर्दैन भने चैते धानको खेती अझै घट्दै जानेछ, जसले मुलुकमा गम्भीर खाद्य सङ्कट निम्त्याउन सक्छ ।”


घाटाको व्यापार गरेर कृषकले सधैँ खेती गरिरहन नसक्ने हुँदा सरकारले बेलैमा खरिद रणनीति र यान्त्रीकरणलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । रासस